काठमाण्डाै – नेपाली कांग्रेसले पालिका चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र शीर्ष नेताहरूले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।
सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर मुख्य नारा दिएर बनाएको घोषणापत्रमा सम्मुन्नत नेपालको जग बसाल्ने वाचा गरिएको छ । हरेक नागरिकलाई कुनै न कुनै उद्यममा जोड्ने, उत्पादन बढाउने, शिक्षा, स्वास्थ्य र पोषणको गुणस्तरमा सुधार ल्याउने, युवा ऊर्जाको बलमा नयाँ प्रविधिमार्फत विकास निर्माणलाई दिगो र तीव्र बनाउने विषय कांग्रेसको घोषणापत्रमा समावेश छन् । यस्तै पारदर्शिता र जवाफदेही स्थानीय शासन, सहज र प्रभावकारी सेवा, अनलाइन सेवालाई बढावा, फरक क्षमता भएका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र दीर्घरोगीलाई घरघरमै सेवा पुर्याउने र सार्वजनिक बिदाको दिन नागरिक एकीकृत सेवा मेला गर्ने कांग्रेसले जनाएको छ ।
यस्तै राजस्व स्रोतको रचनात्मक प्रयोग, करको दायरा बढाउने तर दर घटाउने, उद्यम व्यवसायमैत्री कर प्रणाली निर्धारण गर्ने, घरेलु हिंसा, छुवाछुत, दाइजो, धूम्रपान र लागुऔषधलगायतको नियन्त्रण र नियमन गर्ने उल्लेख छ । यस्तै हरेक पालिकामा सुविधा सम्पन्न उत्कृष्टताको केन्द्रको रूपमा एउटा अगुवा विद्यालय बनाउने, विद्यालय छाड्ने दर घटाउने, हरेक पालिकामा व्यावसायिक सीप विद्यालय, निःशुल्क स्यानेटरी प्याड, अभिभावकसँग सहकार्यलगायतका विषय कांग्रेसको घोषणापत्रमा उल्लेख छन् ।
यस्तै १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्याउनै पर्ने, वडामा आधारभूत स्वास्थ्य केन्द्र, गाउँ नगरमा विशेषज्ञ सेवासहितको प्राथमिक अस्पताल, तथा उपमहानगर र महानगरमा विशेषज्ञ सेवासहितको अस्पताल बनाउने कांग्रेसको प्रतिबद्धता छ ।
यस्तै सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी सहायता भत्ता र गर्भवती पोषण प्याकेज दिइने उल्लेख छ । यस्तै किसानलाई दुईदेखि चार प्रतिशत ब्याजमा ऋण, उन्नत बिउ र पशुपक्षीमा ५० प्रतिशत अनुदान, बजारीकरणका लागि कृषि एम्बुलेन्सलगायतका विषय पनि कांग्रेसले घोषणापत्रमा समावेश गरेको छ । कांग्रेसले महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन २०७९ घोषणापत्र तयारी समिति बनाएको थियो ।
हेर्नुहोस् घोषणापत्रको पूर्णपाठ
प्रकाशित मिति : आइतबार, बैशाख ११ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्