बुटवलबाट राजधानी सार्ने खलनायक को ?

बुटवलबाट राजधानी सार्ने खलनायक को ?

 

बुटवल ।

सन्निकटको स्थानीय तहको चुनावलाई लिएर जनमत विभाजित भएको छ। मततादाहरु आफ्नो पार्टीको पक्षमा जसरी तर्क गरी रहेका छन्, त्यसरी नै विपक्षी पार्टीको कमजोरीमा प्रहार गरिरहेका छन् । राजनीतिमा चाख राख्ने र राजनीतिमा भविष्य देख्नेहरूका लागि आफ्नो पार्टी प्रतिको प्रतिबद्धता र विपक्षी माथिको असहिष्णुता चुनावको वेला अस्वाभाविक हुँदा पनि होइन ।

तर एक अर्का माथि प्रहार गरिरहँदा हाम्रा बुझाइ र तर्कहरूमा कति सत्यता र वस्तुनिष्ठता छन् भन्ने विषय भने अलग हो । चुनाव हो, हार र जित त भई हाल्छ तर कुनै उम्मेदवार र कुनै दललाई नतिजा सुम्पनु अघि मतदाताले आत्मा साक्षी राखेर सोच्नै पर्छ, कतै मैले गल्ती गरिरहेको त छैन ? सोचेर निर्णय गर्ने समय भनेको यही हो र आज गल्ती गरियो भने अरू कैयौ वर्ष पछुताउनु बाहेक अरू कुनै विकल्प नै बाँकी रहँदैन ।

प्रसङ्ग रुपन्देही, केन्द्र बुटवल

बुटवललाई राजनीतिक तथा आर्थिक केन्द्रको रूपमा विकास गर्नका लागि धेरै पूर्वजको हात होला तर अहिलेका मतदाताहरूले लुम्बिनी अञ्चलाधीशको कार्यालय बाहेक बुटवललाई प्रशासनिक केन्द्रको रूपमा संभवत कहिल्लै देख्न पाएनन् । २०७२ सालको नंया संविधान पछि बुटवलले पश्चिम नेपालको महत्त्वपूर्ण प्रशासनिक केन्द्रको रूपमा उदाउने मौका पाएको थियो तर विडम्बना बुटवलको त्यो सपनालाई गर्भमै तुहाउन केही राजनीतिकदलहरुका सांसदहरू आफ्ना नेताहरूसँगै सती गए । बुटवललाई तिनाउ किनारमा छाडिएको फोहर झैँ छाडेर संवृद्ध लुम्बिनीको हावादारी कल्पनामा डुब्न पुगे । कल्पना वाट यथार्थमा आउँदा यी लम्पटहरूका लागि अहिले न नेताको फेरो समात्ने हात छन् नत उनीहरूको साथ छ ।

बुटवलका खलनायक

पार्टीका कुरा गर्दा नेकपा एमालेले तत्कालिन लुम्बिनी अंचललाई आफ्नो मुख्य गढ ठान्दै आएको थियो । लुम्बिनी अञ्चलको समग्र मत परिणामले यो तथ्यलाई पुष्टि गर्छ । यो हिसाबले बुटवललाई राजधानीको रूपमा नजन्मँदै मार्ने पार्टी नेकपा एमाले नै हो ।

व्यक्तिको कुरा गर्दा एमाले नेता भोज प्रसाद श्रेष्ठले बुटवल वाट राजधानी अन्यत्र नसार्नका लागि अन्तिम सम्म प्रयास गरेको बताइन्छ । तर उनको प्रयासलाई सहानुभूति दिने आधार किन पनि देखिँदैन भने बुटवलका जनताका लागि उनले राजनीति गरेको भए पार्टी त्याग्न सक्थे, तर उनले त्यसो गरेनन् ,किनकि उनका लागि बुटवलका मतदाता भन्दा उनको पार्टी र पद महत्त्वपूर्ण भयो । उनले मत बहिस्कार गर्न सक्थे । त्यो पनि गरेनन् । जसरी रुपन्देहीका कांग्रेस नेताहरुले रुपन्देहीको पक्षमा मतदान गरे त्यसरी मतदान गर्नसक्थे । त्यो पनि गरेनन् ।

अर्को कुरा, राजधानीको प्रस्ताव संसदमा लैजाने समयमा मुख्यमन्त्री शंकर पोखरेलको सचिवालयका अधिकांशलाई कोरोना संङ्क्रमण भएको थियो । प्रदेश सभाका केही कर्मचारी पनि संक्रमित थिए । यो अवस्था थाहा हुँदाहुँदै पनि एमालेका यो क्षेत्रका नेताले प्रदेशको राजधानी दाङ लैजाने काममा आँखा चिम्लेर सहयोग गरे ।

विष्णु पौडेल जो पार्टीको महत्त्वपूर्ण पदमा सधैँ रहँदै आएका छन् । उनले चुनावमा बुटवललाई राजधानी बनाउने भन्दै सयौ पटक वाचा गर्दै पनि आएका थिए । तर अन्तिम अवस्थामा उनले पनि बुटवलका मतदातालाई धोका दिए । बुटवलको राजधानी बन्ने सपना गर्भमै तुहाएर उनी पनि बुटवलको लागि खलनायक साबित भएका छन् । यसबाहेक लीला गिरी, भुमिश्वर ढकालहरु त बुटवलका लागि कलङ्क नै हुन ।

 

भ्रमात्मक तथ्य

अहिले पनि लीला गिरी, भुमिश्वर ढकालहरुले सबैलाई पायक पर्ने ठाउमा राजधानी सारेको भनेर पानी माथिको ओभानो बन्ने प्रयास गरिरहेको पाइन्छ । उनीहरूको तर्क छ- बुटवलको विकास भई सक्यो अव अरू ठांउको पनि विकास गर्नु पर्छ । संभवत अव यिनीहरूसँग जवाफ खोज्ने वेला आएको छ । के अरूको हितको लागि बुटवलका जनताले बलिदानी गर्नु पर्ने हो ? अरू ठांउलाई उज्यालो दिन बुटवलवासीले बत्ती निभाउनु पर्ने हो ?

सबैलाई पायक पर्ने कुरामा पनि तर्कसङ्गत देखिँदैन । राजधानी भनेको जनतालाई नजिकै सेवा सुविधा प्रदान गर्नका लागि हो भने करिब ५१ लाख जनसङ्ख्या रहेको लुम्बिनी प्रदेशमा २९ लाख जनसङ्ख्याको पायक पर्ने ठांउ त फेरी पनि बुटवलै नै हो ।

चुनाव आएको छ पक्ष विपक्षमा तर्क हुन्छन् नै तर त्यस्ता तर्कहरू खाली कमजोरी ढाकछोपका लागि गरिन्छ की यथार्थमा टेकेर गरिन्छ भन्ने कुरा मुख्य हो । बुटवलमा दुई चार वटा पुल गासीए होलान्, केही घर ठडिए पनि होलान् तर राजधानीको लागि बुटवलवासीले देखेको मिठो सपना ती संरचनाले पुरा गर्न सक्छन् ? जब नेकपा एमालेको बुटवलप्रतिको नियतमै खोट छ भने त्यो पार्टीका जतिसुकै राम्रा भनिएका मान्छेले पनि गर्ने भनेको त्यही हो, जो यसअघिकाले गर्दै आएका थिए ।

प्रकाशित मिति : सोमबार, बैशाख १९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij