रेमिट्यान्सलाई व्यवस्थित गर्न सरकार नीतिगत सुधारका लागि तयार छ : अर्थमन्त्री पौडेल

रेमिट्यान्सलाई व्यवस्थित गर्न सरकार नीतिगत सुधारका लागि तयार छ : अर्थमन्त्री पौडेल

काठमाण्डाै – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताउनु भएको छ । प्रवासी नेपाली मञ्च अमेरिकाले हिजाे शनिवार राति आयोजना गरेको ‘रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल’ विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताउनु भएको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेले भन्नुभयो, ‘रेमिट्यान्स जति उत्पादन हुने गरेको छ, त्यसको ठूलो हिस्सा लिगल च्यानलबाट भित्र्याउन सकेका छैनौँ । लिगल च्यानलबाट देशभित्र भित्र्याउनका लागि लिनु पर्ने नीति, गर्नु पर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रमहरु अघि सार्न  सरकार तयार छ ।’

रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा, निर्माणको क्षेत्रमा र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सक्छौँ भन्नुहुँदै पौडेलले त्यसका लागि नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्याहरुलाई परिमार्जन र सुधार गर्दै जाने बताउनुभयो ।

गैरआवासीय नेपालीले उठाएको नागरिकता सम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै अर्थमन्त्रीले भन्नुभयो, ‘गैरआवासीय नेपालीहरुको आर्थिक तथा सामाजिक अधिकारसहितको नागरिकता प्राप्त गर्ने संविधानमा हामीले जुन प्रबन्ध गरेका छौँ । त्यो छिट्टै पूरा गर्ने गरी हामी अघि बढेका छौँ । त्यसबाट सहज ढंगले नागरिकता प्राप्त गर्न सक्ने र नेपालमा लगानी गर्न थप अनुकूल परिस्थिति सिर्जना हुनेछ ।’

वैदेशिक लगानी तथा प्रविधि सम्बन्धी ऐनले गैरआवासीय नेपालीहरुलाई विदेशी नागरिक सरह लिएको विषयप्रति गैरआवासीय नेपालीहरुले ध्यानाकर्षण गराएको जानकारी दिँदै उहाँले त्यस विषयलाई सम्बोधन गर्ने  प्रतिबद्धता व्यक्त गर्नुभयो । गैरआवासीय नेपालीहरुले नेपालमा आउँदा भिसा लिनु पर्ने विषयमा पनि ध्यान गएको भन्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले गैरआवासीय नेपालीहरुको नागिरकता सम्बन्धी विषय समाधान गरेसँगै यो समस्या पनि समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

‘नेपालको आर्थिक विकासमा प्रवासमा रहनु भएका प्रवासी नेपाली गैरआवासीय नेपाली अन्यन्तै ठूलो योगदान छ । आउने दिनमा अझ प्रभावशाली हुँदैछ भन्ने अपेक्षा गर्न चाहन्छु,’ पाैडेलले भन्नुभयाे ।

कार्यक्रमका सहभागीहरुले रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै नेपालको अर्थतन्त्रलाई मजबुत पार्न कृषि, पर्यटन, उर्जा, पूर्वाधार, मानवीय संशाधन, औद्योगीकरण, सेवा क्षेत्र, सामाजिक सुरक्षा लगायतमा जोड दिनु पर्ने सुझाव दिनु भएको थियो ।

पौडेलले भन्नुभयो, ‘रेमिट्यान्सका कोणबाट मात्र होइन, वैदेशिक लगानीका निम्ति पनि नेपालको सद्भावना दूतका रुपमा प्रत्येक प्रवासी र गैरआवासीय नेपालीले भूमिका खेलिदिनुस भन्ने अपेक्षा गर्न चाहन्छु । नेपाल लगानीका निम्ति सुरक्षित ठाउँ हो । प्रतिफल दिने ठाउँ हो । त्यो सन्देश संसारभरका लगानीकर्ताका बीचमा पुर्याइदिनुहोस् भन्ने आग्रह छ ।’

प्रकाशित मिति : आइतबार, माघ ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij