भ्रष्टाचार नियन्त्रणका लागि सुशासन कायम गर्नु अपरिहार्य, मुख्यमन्त्री चेतनारायण आचार्य

भ्रष्टाचार नियन्त्रणका लागि सुशासन कायम गर्नु अपरिहार्य, मुख्यमन्त्री चेतनारायण आचार्य

बाँके,

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रणका लागि सुशासन कायम गर्नु अपरिहार्य भएको बताउनुभएको छ ।

लुम्बिनी प्रदेश सरकारले तयार पारेको ‘सुशासन प्रवर्द्धन  तथा भ्रष्टाचार न्यूनीकरण सम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना’को मस्यौदाका सम्बन्धमा सुझाव सङ्कलन गर्न बुधबार खजुरामा आयोजना गरिएको अन्तरक्रिया र छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले सुशासन कायम भयो भने भ्रष्टाचार घट्दै जाने र सुशासन भएन भने भ्रष्टाचार बढ्ने बताउनुभयो । सुशासनका लागि प्रदेश सरकारले विभिन्न कार्यहरूको सुरुवात गरिसकेको जनाउँदै उहाँले त्यसमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रदेशमा भ्रष्टाचार नियन्त्रणसँगै सुशासन कायम गर्न सरकारले पाँच वर्षे रणनीतिक कार्ययोजना निर्माण गरेको जनाउँदै मुख्यमन्त्री आचार्यले यसलाई कडा रूपमा कार्यान्वयन गरिने बताउनुभयो ।

उहाँले थप्नुभयो, ‘‘यो रणनीतिक कार्ययोजना एउटा सामान्य कागज मात्र होइन, प्रदेश निर्माणका लागि अहम् दस्ताबेज समेत हो । सरकारले यसलाई वार्षिक रूपमा विभिन्न कार्यक्रम बनाएर कार्यान्वयन गर्नेछ ।’’सुशासन र भ्रष्टाचार नियन्त्रण सबैभन्दा पहिले आफैबाट सुरु गर्नु पर्ने कुरा भएको जनाउँदै आचार्यले आफूमा सुधार ल्याउँदै सच्चिँदै मातहतका निकाय र व्यक्तिलाई पनि सुधार्नु र सच्चाउनु पर्नेमा विशेष जोड दिनुभयो ।सरकारमा बसेकाहरू, जनप्रतिनिधि, कर्मचारी, व्यवसायीलगायत गर्नुपर्ने जिम्मेवारीलाई इमानदारीपूर्वक पुरा नगरेकै कारण जनतामा निराशा उत्पन्न भइरहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री आचार्यले दसैँको बिदाको समयमा आफूले सरकारी गाडीको प्रयोग नगरेर सुशासनको सुरुवात गरेको जनाउँदै लुम्बिनी प्रदेश सरकारले देशमै पहिलो पटक प्रदेशका मन्त्रीहरूको आचारसंहिता बनाएको बताउनुभयो । उहाँले स्थानीय सरकारका प्रमुख लगायत जनप्रतिनिधिहरूले निजी र व्यक्तिगत कामका लागि सरकारी गाडीको प्रयोग नगर्न आग्रह गर्दै यसले अन्यलाई पनि प्रोत्साहन गर्ने बताउनुभयो ।

सो अवसरमा लुम्बिनी प्रदेश सरकारका सचिव कृष्ण पौडेलले सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरण सम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा बारे विस्तृत रूपमा जानकारी गराउनुभएको थियो । ११ विषयमा १०० वटा क्रियाकलाप समेटिएको सो मस्यौदामा कार्यक्रममा सहभागी स्थानीय सरकारका प्रमुख, उपप्रमुख, नागरिक समाजका अगुवा, अधिकारकर्मी, राजनीतिक दलका नेताहरू तथा कर्मचारीले विभिन्न सुझाव दिनुभएको थियो ।

कार्यक्रममा नागरिक समाजका अगुवाहरू वसन्त गौतम, प्रभातसिंह ठकुरी, कृष्णप्रसाद श्रेष्ठ, मीनबहादुर मल्ल, बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी, कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदी र नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारीलगायतले सुझाव दिनुभएको थियो ।

सो अवसरमा प्रदेश सभा सदस्यहरू रत्न खत्री, अम्बिका काफ्ले, मिना बोहोरा सिद्धिकी, माया पुन, सुशीला वादी, जन्मजय तिमिल्सिना र भुवनेश्वर चौधरी, बाँके र बर्दियाका जिसस प्रमुख लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : बुधबार, कार्तिक ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij