बुटवल, पत्रकार राधेश्याम विश्वकर्मामाथि दुव्र्यवहार तथा आक्रमणको प्रयास गरी प्रहरी हिरासतबाटै फरार दीपेश यादव पक्राउ परेका छन् । यादवलाई बिहीबार रुपन्देहीको नेपाल–भारत सीमा नाका कक्ररहवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक डीएसपी सुरज कार्कीले जानकारी दिए ।
यादवसहित ७–८ जना तस्करहरुको समूहले अन्नपूर्ण मिडिया नेटवर्क प्रा।लि। एपी वान टेलिभिजन मा कार्यरत पत्रकार विश्वकर्मामाथि रुपन्देहीको मर्चवारमा वैशाख ८ गते सञ्चार उपकरण खोसेर क्यामेरामा कैद भएका भिडियो मेटाउन लगाउने, दुव्र्यवहार गर्ने र भौतिक आक्रमणको प्रयास गरेका थिए ।
सोही दिन नै यादवलाई प्रहरीले पक्राउ गरेको थियो । तर, उनी प्रहरी हिरासतबाटै फरार भएका थिए । त्यसपछि लुम्बिनी प्रेस क्लब, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, लुम्बिनी प्रदेश समिति, जिल्ला शाखा तथा पत्रकार सम्बद्ध विभिन्न संघ–संगठनले विज्ञप्ती जारी गरी दोषीलाई कारवाहीको माग गरेका थिए ।
वैशाख ९ गते पत्रकार महासंघ रुपन्देही शाखा र लुम्बिनी प्रेस क्लबले २४ घण्टे अल्टिमेटम दिदै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई पक्राउ माग गरेका थिए । तर, दोषी पक्राउ नगरेको भन्दै प्रेस क्लबले चरणबद्ध आन्दोलन घोषणा गरेको थियो ।
बिहीबार आन्दोलन अन्तर्गत पत्रकारहरुले यादवलाई पक्राउ गरी कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए । प्रेस स्वतन्त्रताको सम्मान र पत्रकार विश्वकर्मामाथि भएको अत्याचारका विरुद्ध आयोजित धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्मा, पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, वरिष्ठ पत्रकारहरु हरिबहादुर थापा, तीर्थ कोइराला, लुम्बिनी प्रेस क्लबका पदाधिकारी, पूर्वपदाधिकारी तथा सदस्यहरु, नेपाल पत्रकार महासंघ रुपन्देही, प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, समाजवादी प्रेस संगठन, प्रेस सेन्टर नेपाल लगायतका नेता एवं पत्रकार सम्बद्ध विभिन्न संघ–संगठनका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए । पक्राउ परेका यादवमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रेस क्लबका निवर्तमान कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान कार्यसमिति सदस्य तथा मधेशी पत्रकार समाज नेपाल, रुपन्देहीका अध्यक्ष समेत रहेका विश्वकर्माले अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्