काठमाण्डाै – सरकारले गएको भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनका क्रममा भएको मानवीय एवम् भौतिक क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।
याेसँगै जाँचबुझ आयाेगकाे म्याद तेस्राे पटक थप भएकाे छ । आयोगको दोस्रो पटक थप भएको म्याद पर्सि बुधवार माघ २८ गते सकिँदैछ ।
सरकारले गएकाे असाेज ५ गते विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियाे ।
तीन महिनाको कार्यादेशसहित गठित आयोगले आफ्नो काम पूरा गर्न नसकेपछि पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिनाका लागि आयोगको म्याद थप गरेको थियो । आयोगले आफ्नो काम पूरा गर्न नसकेपछि माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले फेरि २० दिन आयोगको म्याद थप गरेको थियो ।
यस्तै बैठकले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेकाे छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्षको आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने हुन्छ ।
प्रकाशित मिति : सोमबार, माघ २६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्