नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल नेपाली कांग्रेसको सकृय राजनीतिमा होमिएका छन्। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका पोख्रेल कांग्रेस लुम्बिनी प्रदेशको पदाधिकारी बन्ने दौडमा लागेका छन्।
उनी कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा आकांक्षी देखिएका छन्। आफूलाई कांग्रेसको प्रदेश महामन्त्रीको रूपमा उद्घोष गरेका विपुलले प्रदेश तहमा भेटघाट तथा समन्वय गरिरहेका छन्।
उनले बुधबार मात्रै लुम्बिनी कांग्रेसका केही पदाधिकारी सम्मिलित भेलामा आफ्नो उम्मेदवारी समेत घोषणा गरे। कांग्रेसका उपसभापति भुवन श्रेष्ठ, महामन्त्री सुरेन्द्र आचार्य, कोषाध्यक्ष प्रकाश रानासहित दाङको घोराहीमा भएको कांग्रेस नेता तथा कार्यकर्ताहरूको भेलामा विपुलले आफ्नो उम्मेदवारी महामन्त्री पदमा रहने घोषणा गर्दै सहयोगका लागि अपिल गरे
‘नेपाली कांग्रेसको प्रदेश संरचनालाई बलियो बनाउन र पार्टीमा प्रदेश संरचनाको महत्व कायम गर्ने विषयलाई मध्यनजर गर्दै म आफूलाई प्रदेश महामन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छु,’ पोख्रेलले भने।
पार्टीको १५ औँ महाधिवेशन अन्तर्गत प्रदेश र जिल्ला अधिवेशन हुन बाँकी छन्। यि दुई तहका अधिवेशनहरू बाँकी रहँदा कांग्रेसीहरूलाई फेरि आन्तरिक चुनावी माहोलले तताउन थालेको छ। बुधबार दाङ आइपुगेका उपसभापति भुवन श्रेष्ठ र महामन्त्री सुरेन्द्र आचार्य प्रदेश सभापति पदका आकांक्षी हुन्। उनीहरू दुवैले सभापति पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै जिल्ला दौडाहलाई व्यापक बनाएका छन्।
यसैगरी, अर्का उपसभापति राजु खनालले पनि आफू प्रदेश सभापति पदको उम्मेदवार रहने घोषणा गरेका छन्। महामन्त्रीमा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष पोख्रेल संगै कांग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश राना आकांक्षी देखिएका छन्।
यसैबिच, कांग्रेस प्रदेश नेतृत्वका लागि आकांक्षीहरूले दौडधुप गरिरहँदा प्रदेश सभापति अमर सिंह पुन भने प्रदेश कार्यसमितिलाई सर्वसम्मत बनाउने प्रयासमा आफू रहेको बताएका छन्। उम्मेदवारका आकांक्षीहरूले भेटघाट, छलफललाई निरन्तरता दिइरहेको भए पनि आफू भने प्रदेश नेतृत्वलाई सर्वसम्मत बनाउने अभियानमा लागिरहेको बताए।
‘अहिले आकांक्षीहरूले अकांक्षा व्यक्त गर्नु सामान्य विषय हो,’ सभापति पुनले भने ‘तर मेरो अधिकतम प्रयास प्रदेश कार्यसमितिलाई सर्वसम्मत बनाउनु रहने छ, म अहिले यही प्रयासका साथ लागिरहेको छु।’
प्रकाशित मिति : आइतबार, मंसिर ६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्