काठमाडौँ
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको हेपाहा प्रवृत्तिविरुद्ध एकजुट हुन आफू पक्षीय जिल्ला सभापतिहरुलाई आग्रह गर्नुभएको छ । संस्थापन पक्षले बहुमतको दम्भका आधारमा फरक मत राख्ने समूहलाई पेलेरै जान खोजेको भन्दै वरिष्ठ नेता पौडेलले अन्यायविरुद्धको लडाइँमा साथ दिन जिल्ला सभापतिहरुलाई आग्रह गर्नुभयो ।
सभापति शेरबहादुर देउवाले पार्टीमा न्यूनतम सहमतिको स्थिति समेत पैदा नगरेकाबारे पौडेलले बैठकमा बिफ्रिङ गरेको कांग्रेस धादिङका सभापति रमेश धमालाले बताउनुभयो ।
सभापतिको पछिल्ला कदमबारे चुप लागेर बस्ने अवस्था नभएको भन्दै आफूले परामर्शका लागि जिल्ला सभापतिहरुलाई बोलाएको कुरा पौडेलले बैठकमा राख्नुभएको थियो । बैठकमा ४२ जिल्लाका कांग्रेस सभापतिहरु सहभागी भएका छन् । आजको बैठकमा बोलेका अधिकांश जिल्ला सभापतिहरुले पार्टीमा बहुमतका आधारमा भएका निर्णय नस्वीकार्न सुझाव दिएका छन् ।
तर कांग्रेसको संस्थापन समूहले भने बहुमतकै आधारमा सभापतिमा चुनिएकाहरुले पार्टीमा बहुमतिय पद्धति मान्दैनौँ भन्न नसुहाउने बताएको छ । सभापति देउवा निकट नेता एनपी साउदले जिल्ला सभातिहरुले बहुमतको निर्णय मान्दैनौँ भन्छन् भन्ने कुरामा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिनुभयो ।
कांग्रेसको संस्थापन पक्षले केन्द्रीय समितिमा भएको बहुमतका आधारमा पेलेर निर्णय गरेको भन्दै पौडेल पक्षले पार्टी कार्यालय सानेपामै जिल्ला सभापतिहरुको गुट भेला आयोजना गरेको हो । कांग्रेस इतिहासकै कमजोर स्थितिबाट गुज्रिरहेका बेला यस्ता गतिबिधिले उसको भविष्य थप संकटतर्फ धकेलिने विश्लेषक सुरेन्द्र केसीको टिप्पणी छ ।
नेपाली कांग्रेसमा गुटउपगुटको सक्रियता सनातन हो । तर अहिले मुलुकको राष्ट्रिय राजनीतिमा कमजोर बनेको कांग्रेसका लागि फेरि पनि गुटगत राजनीतिको निरन्तरताले धप धक्का दिने छ । त्यसैले गुटको राजनीति गरेर फुटको स्थिति पैदा गर्नुभन्दा सामूहिक एकताको भावना जागृत भए मात्रै पार्टी बलियो हुने छ भन्ने कुरा नेतृत्वले बुझ्न आवश्यक छ ।
प्रकाशित मिति : सोमबार, पुष २१ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्