शहीद गेट !!
म गंगालाल…
रेलको लीकमा हाम फाली
आत्महत्या गरेर यहाँ आएको हुँ !
एक हुल समृद्धिका सपनाहरूलाई भोग चढाउन
कोही त चाहिन्छ भन्ने हल्ला चल्यो !
नदेखे पछि तयार कसैलाई
झ्वाम्मै हाम फालें
स्वप्न-पटरीमा
स्वर्ण-पटरीमा !
पलायन मगज
रसीला आँखा
मुर्दा सपना
अनि
काटिएका हजारौं टाउकाहरू बोकेर
मुगलान हुँइकिदै गरेको ‘बुलेट रेल’ले
च्वाट्टै चुँडाल्यो टाउको मेरो !
उछिट्टिएर छ्यापिए
राता छिर्काहरू
सेतो शिंहदरबारमा !
म धर्मभक्त… !
धर्म हराउँदै गइरहेको देशमा
राजनीतिका दास र भक्तहरु
लगातार जन्मिरहेको मुलुकमा
एक देशभक्तलाई बली नचढाई नहुने कुरो उठ्यो
नयाँ तन्त्रको लागि,नयाँ मन्त्रको लागि !
तयार नभई मलाई सुखै थिएन !
‘क्रिसमस ट्रि’ मा रंगीन डोरी लगाइयो
र
पिलाइयो ‘होली वाइन’ !
बनाइयो मदहोस-बेहोस !
भनियो-
‘अब चीर शान्तिको लागि आरामले लट्किनुस् !’
एक जोडी परेवाहरू उडेर गइ बसे
ढलेको धरहरा छोपिएको त्रिपालमा
र
विष्टा गरे तल भित्तामा टाँसिएको सगरमाथाको पोस्टरमा !
परेवालाई पखाला लाग्ने सहरमा
म नशामै झुन्डिएँ !
म दशरथ चन्द… !
अश्व-रथ रोकी दरवार मार्गमा
निकालियो हात्ती-सवारी
महाराजगंज देखि बालुवाटार सम्म
भनियो-
‘अब हिन्द महासागरको जल-जहाज-यात्रा सुरु हुन्छ
तिरंगा लहराउँदै !
साइतमा बाटो काट्ने रथ अनि दशरथ दुबैलाई
नाङगो बनाउनु पर्छ बीच बजारमा लगी !
हरेक तन्त्रहरूमा सहजै ‘लाइसेन्स’ पाउने
स्थापित ‘कम्ब्याटिएन’ हरूले
‘मार्चपास’ गरी
बानेश्वर देखि शिंहदरबार सम्म,
पालै पालो ठोक्नुपर्छ गणतान्त्रिक गोली
सीमा,सम्पदा,भाषा र भुगोल बँचाउने
दावी गर्ने यो पागललाई ड्याम्म पारी !’
बाँधियो आँखामा पट्टी
देखाइयो कालो गणतन्त्र
र
छेंडियो मेरो छाती
टूँडिखेल बिचमा लगी !
अनि, म शुक्रराज… !
राजनीतिको शुक्रकिट नै खराब परेको देशमा
नागरिकका सपनाहरूको
प्रत्येक रात ‘एबोर्सन’ हुन्छ !
सुताएर नेपाल आमालाई बिच चौराहमा
गरियो बलात्कार दिनदहाडै
पालै पालो..
प्रजातन्त्र बाट
लोकतन्त्र बाट
अनि अन्त्यमा
गणतन्त्र बाट !
अर्को बिहान भनियो-
आमाको सल्यक्रिया सफल भयो
‘आवाज विहीनको आवाज बन्छु’ भनी
जन्मिन खोज्ने एक शास्त्रीको
निर्मम ‘एबोर्सन’ गरियो,
दावी गरियो-
आमा अब हल्का भइन !
लुलो सिमाना
सार्वभौमिकता नांगो
स्वभिमान उदांगो
इतिहास र भुगोललाई पारेर नामेट !
लत्रेको स्वाभिमान
जलेको नागरिक मन
अनि
ढलेको धरोहर अगाडी
तत् पश्चात खडा गरियो
एउटा गज्जबको शहीद गेट !
जहाँ
फूल चढाए पछि हरेक वर्ष
वैतरणी तर्छन
ऊ पारी देखिने
त्यो ठूलो सेतो घरका
राता-हरिया अपराधीहरू !!
हेमन्त गिरीको फेसबुकबाट
प्रकाशित मिति : बिहिबार, माघ १६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्