काठमाडौं ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा चारजना पूर्वमन्त्री र दुईजना पूर्वसचिवसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बुधबार मुद्दा दायर गरिएका पूर्वमन्त्रीहरुमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र छविराज पन्त रहेका छन् ।
यस्तै, पूर्वसचिव एवं अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्वसचिव दिनेशहरि अधिकारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
तत्कालीन अवस्थामा उपसचिव र हाल चितवन जिल्ला अदालतमा न्यायाधीश रहेका विनोद गौतमविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
यसैगरी, बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने योजनाकार मानिएका शोभाकान्त ढकाल, उनलाई रकम दिने भाटभटेनी सुपरस्टोरका सन्चालक मीनबहादुर गुरुङ, उनकी श्रीमती र छोराविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।
यसैगरी, रुक्मशमशेर राणा र उनको परिवारविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री रहेको बेला प्रधानमन्त्री निवासले चर्चेको १७ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरिएकाहरुमध्ये शोभाकान्त ढकालबाट सबैभन्दा धेरै ४९ करोड रुपैयाँ बराबरको बिगो र जरिवाना माग गरिएको छ ।
यस्तै, ११० जनाबाट जग्गा फिर्ता गरी कारबाही गर्न र ६५ जनाबाट जग्गा फिर्ता लिन अख्तियारले माग गरेको छ ।
प्रकाशित मिति : बुधबार, माघ २२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्