काठमाडौं । गैरसरकारी विधेयकका रूपमा थप एउटा संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ ।
सांसद प्रेम सुवालले शुक्रबार संविधान संशोधन विधेयक दर्ता गराएका हुन् । सुवालले शुक्रबार अपराह्न २ बजेर २० मिनेटमा आफ्ना तर्फबाट संविधान संशोधन विधेयक दर्ता गराएको विधेयक शाखाकी अधिकृत सावित्रा शर्माले जानकारी दिइन् ।
सांसद सुवालले नेपालका नागरिक सबैलाई सैनिक तालिम दिनुपर्ने, राष्ट्रपति कार्यकारी प्रमुख हुनुपर्नेलगायत विषयमा आफ्नो संशोधन राखेका छन् । यसअघि सरकारले नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधानको दोस्रो संशोधन विधेयक दर्ता गराएको थियो ।
सो विधेयक संसदीय प्रक्रियामा प्रवेश भइसकेको छ । त्यसपछि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका तर्फबाट संयुक्त रूपमा, नेपालको संविधानको धारा ७, ११, ३८, ८६,२७४, २८२, २८३ र २८७ मा भएको व्यवस्था संशोधनको माग गर्दै नेपाली कांग्रेसका सांसदहरू अमरेशकुमार सिंह, उमाकान्त चौधरीलगायत आठजना सांसदको र जनमोर्चा नेपालको तर्फबाट संविधान संशोधन विधेयक दर्ता भएका छन् ।
सांसद सुवालले संविधान संशोधन विधेयक दर्ता गराएसँगै संविधान संशोधनका लागि गैरसरकारी संशोधन विधेयकको संख्या चार पुगेको छ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्