काठमाण्डौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुहार हेरेर कोरोना सङ्क्रमित नचिनिने भएकोले हरेक व्यक्तिसँग सतर्क हुन आग्रह गरेको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले कतिपयलाई कोरोना सङ्क्रमण भए पनि लक्षण नै नदेखिने र अनुहार हेरेर सङ्क्रमित नचिनिने भएकोले हरेक व्यक्तिसँग सतर्क रहनुपर्ने बताउनुभयो ।
उहाँले नेपालमा अहिले पनि दिनहुँ कोरोना सङ्क्रमित भेटिरहेको र नेपालमा जोखिम कायमै रहेको भन्दै सावधानी अपनाउन आग्रह गर्नुभयो । लकडाउन हटे पनि कोरोनाको जोखिम कायमै रहेकोले स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्न प्रवक्ता देवकोटाले आग्रह गर्नुभएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा एक सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या १८ हजार ६ सय ८३ पुगेको छ । थप ७५ जना डिस्चार्ज भएसँगै कोरोनामुक्त भएर घर फर्किनेको सङ्ख्या १३ हजार एक सय २८ पुगेको छ ।
अहिले देशभरि पाँच हजार चार सय ४० जना सक्रिय सङ्क्रमित रहेका छन् । प्रदेश नम्बर १ मा एक सय ८६, प्रदेश नम्बर २ मा एक हजार आठ सय ७३, वाग्मती प्रदेशमा चार सय ४४ र गण्डकी प्रदेशमा दुई सय ९४ जना आइसोलेशनमा उपचाररत छन् । यस्तै प्रदेश नम्बर ५ मा तीन सय ५८, कर्णाली प्रदेशमा तीन सय ६७ र सुदूरपश्चिम प्रदेशमा एक हजार नौ सय १८ जना सङ्क्रमित उपचाररत छन् ।
प्रकाशित मिति : आइतबार, साउन ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्