सचिवालयको वैधता र औचित्यमाथि प्रश्न : पौडेल

सचिवालयको वैधता र औचित्यमाथि प्रश्न : पौडेल

काठमाडौं।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको बताउनुभएको छ ।

पार्टीको ‘कोर अफ दी लिडरसीप’का रुपमा मान्यता पाएको सचिवालय आन्तरिक समस्या समाधान गर्नेभन्दा समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको पौडेलको भनाइ छ ।

पार्टीको आन्तरिक जीवनमा देखिएको समस्या र राष्ट्रिय राजनीतिलाई सही दिशामा लैजानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा नेकपा सचिवालयले त्यस्तो गर्न नसकेको पनि उहाँले बताउनुभयो ।

बिहीबार ‘न्यूज एजेन्सी नेपाल’सँगको कुराकानीमा महासचिव पौडेलले सचिवालयले आफ्नो समीक्षा गर्दै भूमिका परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

‘पछिल्लो समय समस्या समाधानको थलो नभएर समस्या सिर्जना गर्ने भूमिकामा सचिवालय परिवर्तन भएको छ । त्यसैले सचिवालयले आफ्नो भूमिका बदल्नुपर्ने आवश्यकता मैले देख्छु’–उहाँले भन्नुभयो–‘यदि, पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्या समाधानका लागि, राष्ट्रिय राजनीतिलाई सही दिशामा दिशाबोध गराउनका लागि सक्षम, प्रभावकारी, नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको अवस्थामा स्वाभाविकरुपमा सचिवालयको वैधता र औचित्यमाथि प्रश्न खडा हुन्छ ।’

महासचिव पौडेलले आफ्नो अभिभारा सही ढंगले पूरा गर्न नसक्ने अवस्था आएको भए सामूहिकरुपमा जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो–‘यदि, हामी यो ढंगले भूमिका निर्वाह गर्न असक्षम र नसक्ने भएका हौं भने स्थायी कमिटीका सदस्यसमक्ष भनौं–‘हामीले यतिमात्रै गर्न सक्यौं, योभन्दा बढी गर्न नसक्ने भयौं, हाम्रो अभिभारा ठिक ढंगले पूरा गर्न नसक्ने भयौं, त्यसैले तपाइँहरु जिम्मेवारी सम्हाल्नका लागि तयार हुनोस्, हामी पदमुक्त हुन्छौं ।’

बुधबार (हिजो)को सचिवालय बैठकमा समेत जिम्मेवारी ठिक ढंगले निर्वाह गर्न नसक्ने अवस्थामा स्थायी कमिटीलाई बाटो छोड्नुपर्ने धारणा आफूले राखेको उहाँले बताउनुभयो ।

पार्टी आन्तरिक जीवनमा गम्भीर, जटिल र संकटग्रस्त भएको उल्लेख गर्दै उहाँले जनता र नेता–कार्यकर्ताहरुले नचाहेका अपेक्षित घटनाहरु घटिरहेको बताउनुभयो ।

प्रकाशित मिति : बिहिबार, मंसिर ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij