… अनि सिद्धार्थले गृहत्याग गरे

… अनि सिद्धार्थले गृहत्याग गरे

कपिलवस्तु नामको एक रम्य देश थियो । जातक कथाअनुसार पहिलेका बुद्धहरुले यही क्षेत्रमा जन्म लिएका र आगामी बुद्धहरुले पनि यही क्षेत्रमा जन्म लिने भएकाले सिद्धार्थ गौतमले पनि कपिलवस्तु नगरमा जन्म लिने निर्णय गर्नुभएको थियो ।

सिद्धार्थलाई मायादेवीले माइती देवदह जाने बेलामा लुम्बिनी बगैचामा जन्म दिनुभएको थियो (हालको रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका) । त्यसबेला कपिलवस्तुमा शाक्यवंशका राजा सुद्धोधनले राज्य गर्नुभएको थियो । राजाका मायादेवी र प्रजापति नामका दुई रानी थिए ।
……………..
कपिलवस्तुका राजा सुद्धोधनका छोरा सिद्धार्थलाई यसोधराबाट पुत्र प्राप्त भइसकेको थियो । राहुलको जन्मपछि सिद्धार्थको मनमस्तिष्कमा अनेक तर्कनाहरु आउन थालेका थिए । राज्यका विभिन्न स्थानको भ्रमणका क्रममा सिद्धार्थले देखेका बिरामी, वृद्धको जीवन र दुःखलाई लिएर जिन्दगीप्रति वितृष्णा पैदा भएको थियो ।

राहुलको जन्म भएपछि जब यसोधराले स्वास्थ्यलाभ गर्नुभयो । वसन्त ऋतुको एक दिन रानी गौतमीको अनुरोधमा छन्न (बुद्धका सारथी)ले सिद्धार्थ र यसोधरालाई गाउँतिर घुमाउन लिएर गए । गाउँका मानिसहरुले सिद्धार्थ र यसोधरालाई सम्मानसाथ अभिवादन गरिरहेका थिए ।

जब उनीहरु वाणगंगामा पुगेका थिए । छन्नले आत्तिदै घोडाको लगाम ताने । अगाडि एक जना मानिस बेहोस अवस्थामा पल्टिरहेको थियो । उसको हात र खुट्टा खुम्चिएर छातीमा टासिएको थियो ।

ऊ थरथर कापिरहेको थियो । उसको आधा खुलेको मुखबाट कहराइरहेको आवाज आइरहेको थियो । सिद्धार्थ हतार हतार रथबाट ओर्लेर बेहोस मानिसको नजिकै जानुभयो । सिद्धार्थले उसको हात समाउनुभयो र छन्नसँग भन्नुभयो, सायद यो मानिस फ्लु बिग्रिएका कारण लडेको हो ।

आउ यसको पैताला र हत्केलामा मालिस गरिदिउँ, उसलाई लाभ मिल्नेछ । तर छन्नले सिद्धार्थको प्रस्ताव अस्वीकार गर्दै सचेत गराए, मान्यवर यो फ्लु बिग्रिनुको लक्षण हैन, यो मानिसलाई लागेको रोगको उपचार कसैलाई पनि ज्ञात छैन । सिद्धार्थले, के तिमीलाई पूरा विश्वास छ, के हामी उसलाई राजवैद्य भएको स्थानमा लिएर जान सक्दैनौं ।

छन्नले, मान्यवर राजवैद्यले पनि यसको उपचार गर्न सक्दैनन । मैले सुनेअनुसार यो एकदमै ठूलो संक्रामक रोग हो । तपाइले उसको हात छाडिदिनुस्, तपाइलाई पनि यो रोग सर्न सक्छ । तर सिद्धार्थले हात छाड्नु भएन । सिद्धार्थको स्वास्थ्य सधै राम्रो थियो । उहाँलाई कुनैखालको रोगले छोएको थिएन ।

तर त्यस अल्पायुमै मरिरहेको मानिसलाई देखेर आफु स्वस्थ हुने भावना उहाँको मनबाट गायब भयो । यस्तै सिद्धार्थले मृत मानिसलाई चितामा जलाईरहेको देख्नुभयो । यी कुराहरुले सिद्धार्थलाई झनझनै उद्देलित बनायो ।

त्यस रात यसोधराको निद्रा खल्बलियो । उहाँले विचित्र खालको सपना देख्नुभयो । पहिलो सपनामा एउटा सेतो गाई देख्नुभयो । जसको निधारमा धु्रवताराझै चम्किरहेको थियो । गाईले कपिलवस्तुमा बाहिर जाने बाटो खोज्दै घुमिरहेको थियो ।

इन्द्रले सिंहासनमाा बसेर घोषणा गर्नुभयो, यदि तिमीले यस गाईलाई रोक्न सकेनौ भने राजधानीमा प्रकाश रहनेछैन । गाईलाई रोक्न धेरै मानिसहरु दौडिरहेका थिए । तर कसैले पनि रोक्न सकेनन् । गाई नगरको द्धारसम्म गयो र अदृश्य भयो । त्यस्तै अर्को सपनामा यसोधराले सुमेरु पर्वतमा स्वर्गका ४ वटा देवताहरुलाई देख्नुभयो ।

जो कपिलवस्तुमा प्रकाश फैलाइरहेका थिए । अकस्मात इन्द्रको आसनको झण्डा एकदमै जोडसँग फरफरायो र भुँइमा खस्यो । सबै रंगका फुलहरु आकाशबाट वर्षन थाले । संगीतको ध्वनिले राजधानी गुञ्जायमान भयो । फेरि अर्को सपनामा तीब्र घोषणा गर्दै आकाशवाणी भयो, त्यो समय आइसकेको छ, त्यो समय आइसकेको छ । भयभीत यसोधराले सिद्धार्थको आसनतिर हेर्नुभयो । सिद्धार्थ त्यहाँ हुनुहुन्नथ्यो ।

उहाँको केशमा लगाइएको चमेलीको फुल भुइमा खसेको थियो । सिद्धार्थले आभुषण छाडेर जानुभएको थियो । त्यो एउटा सर्पमा परिणत भयो र ढोकाबाट बाहिर गयो । यसोधरा सपनाबाट आक्रान्त हुनुभयो । त्यही समयमा नगरद्धारको बाहिर गाइको आवाज सुनियो ।

इन्द्रासनको ध्वजा फरफरायो र फेरि आकाशवाणी हुन थाल्यो , त्यो समय आइसकेको छ । ्यस्ता सपनाहरु देखेपछि यसोधरा आत्तिदै जाग्नुभयो । यसोधराको निधार पसिनाले भिजेको थियो । यसोधरा सिद्धार्थतर्फ फर्किएर उहाँलाई हल्लाउनुभयो, सिद्धार्थ, सिद्धार्थ कृपा गरेर जाग्नुहोस् । सिद्धार्थ जागिरहेकै हुनुहुन्थ्यो ।

उहाँले यसोधराको शिरमा हात पुराउनुभयो र सान्त्वना दिदै भन्नुभयो, गोपा, तिमीले सपनामा के देख्यौ, मलाई पनि बताउ । यसोधराले तिनवटै सपना बताउनुभयो र सोध्नुभयो, के यी सपना तपाइले मलाई छाडेर जानुहुनेछ, जसले सद्मार्गको मार्ग खोज्न सकियोस्, यसैको संकेत हो ?

सिद्धार्थ मौन रहनुभयो । केही क्षणपछि सान्त्वना दिदै भन्नुभयो –गोपा, तिमी चिन्ता नगर, तिमी गम्भीर प्रकृतिकी नारी हौ । मेरो जीवन संगिनी हौ, जसले मेरो आकांक्षालाई राम्रोसँग बुझ्न सक्छ । यदि निकट भविष्यमा मलाई तिमीबाट टाढा जानुपरयो भने मलाई थाहा छ, तिमीमा आफ्नो कार्य जारी राख्ने साहस छ ।

चाहे म तिमीलाई छाडेर किन नजाउँ र मेरो शरीर तिमीबाट टाढा किन नहोस्, फेरि पनि मेरो प्रेम पुर्ववत नै रहनेछ । गोपा, म तिमीलाई प्रेम गर्न छाड्न सक्दिन । यो कुरा तिमीलाई थाहा भयो भने तिमीले हामीहरुको विरहलाई सहन गर्न सक्नेछौं र जब मलाई सद्धर्म प्राप्त हुनेछ, म तिमी र हाम्रो छोरालाई भेट्न आउनेछु । अब तिमी कृपया गरेर थोरै आरा मगर्ने प्रयास गर ।

सिद्धार्थका यी शब्दहरु प्रेमले भरिएका थिए । यसोधरालाई सिद्धार्थका कुरा सुनेर सन्तोष प्राप्त भयो । भोलिपल्ट सिद्धार्थ आफ्ना बुवा सुद्धोदनसँग कुरा गर्न जानुभयो र भन्नुभयो, बुवा महाराज, म तपाइँसँग घर छाडेर सन्यास ग्रहण गर्ने आज्ञा लिन आएको हुँ जसले गर्दा म सद्धर्मको ज्योर्तिमय मार्ग खोज्न सकुँ ।

यो सुनेर राजा चिन्तित भए । हुन त पहिलेदेखि नै यो अवस्था आउने छ भन्ने राजालाई थाहा थियो तर यति छिटो यो अवस्था आउनेछ भन्ने राजालाई लागेको थिएन ।

राजाले लामो समयसम्म सिद्धार्थलाई हेरिसकेपछि भन्नुभयो, हाम्रो परिवारको इतिहासमा केही पूर्वज सन्यासी बनेका छन् तर कसैले पनि तिम्रो आयूमा सन्यास धारण गरेका छैनन्, सबैले पचास वर्षको आयू हुने बेलासम्म प्रतिक्षा गरेका थिए ।

किन तिमी पनि त्यस आयूसम्म प्रतीक्षा गर्दैनौं ? तिम्रो छोरा अहिले सानै छ र सारा देश तिमीमाथि आशा गरेर बसेको छ ।

सिद्धार्थले भन्नुभयो, बुवा सिंहासनमा एकदिनको लागि बस्नु पनि मेरा लागि बलिरहेको अगारमाथि बस्नु समान हो । यदि मेरो हृदय शान्त भएन भने मैले तपाइको या जनताको विश्वासको रक्षा कसरी गर्न सक्छ ? मैले समय कति तेजले बग्छ भन्ने कुरा देखेको छु । मलाई थाहा छ मेरो यौवन पनि यस्तै रहने छैन । कृपया मलाई जाने अनुमति दिनुहोस् ।

राजाले आफ्ना छोरालाई हतोत्साहित गर्दै भन्नुभयो, तिमी आफ्नो मातृभूमिको विषयमा आफ्ना आमा बुवा, यसोधरा, र आफ्नो त्यस बच्चाको विषयमा सोच जो अहिले शिशु अवस्थामा छ ।

तपाइहरु सबैको बारेमा खुब सोच विचार गरेर नै म तपाइसँग अनुमति माग्न आएको हुँ । म आफ्नो उत्तरदायित्व देखि मुख लुकाइरहेको छैन । बुवा तपाईलाई थाहा छ, तपाइहरुले मेरो हृदयको पीडा छुटाउन सक्नुहुन्न ।

तपाइ स्वयं पनि आफ्नो पीडाबाट मुक्त कहाँ हुनुहुन्छ ? राजाले आफ्नो छोराको हात थाम्दै भन्नुभयो, सिद्धार्थ तिमीलाई मलाई तिम्रो कति आवश्यकता छ भन्ने कुरा थाहा छ । मैले तिमीमाथि मेरा सबै आशाहरु केन्द्रित राखेको थिएँ । मलाई यस्तो अवस्थामा छाडेर नजाउ ।

म तपाइँलाई कहिले पनि त्याग्न सक्दिन । म तपाइँसँग केही समयका लागि जान दिनुहोस भनेर अनुरोध गर्न आएको हुँ । जब मैले सद्धर्म प्राप्त गर्ने छु तब म फर्केर आउनेछु । राजा चुपचाप फर्किएर गए ।
……
रातको समय, आकाशमा पूर्ण चन्द्रमाको चाँदनी फैलिरहेको थियो । संगीत, वार्तालाप लगायको आवाजहरु भित्रसम्म आइरहेको थियो । द्धारसम्म आएकी यसोधरा स्वयंले छन्नलाई खोज्न निस्किनुभयो । छन्न सुतिसकेका थिए ।

त्यसैले यसोधराले छन्नलाई जगाएर फुसफुसाउँदै भन्नुभयो, संभव छ, राजकुमारलाई आज राती नै तिम्रो आवश्यकता पर्न सक्ने छ । त्यसैले कन्थक अश्वलाई सवारीका लागि तयार गरेर राख्नु । दोश्रो घोडा आफ्ना लागि पनि तयार पारेर राख्नु ।
…..
ढिलो गरेर बाहिर निस्किनुभएका सिद्धार्थ एक्लै बसेर आकाशमा चन्द्रमा र चम्किरहेका हजारौं ताराहरुर्लाइ हेरिरहनुभएको थियो । उहाँले आज राती नै महल छाड्ने निश्चय गरिसक्नुभएको थियो । आखिरमा उहाँ आफ्नो कक्षमा आउनुभयो र कुर्सीमा राखिएका यात्राका वस्त्र लगाउनुभयो । पर्दा हटाएर यसोधराको ओछ्यानतर्फ हेर्नुभयो ।

यसोधरा सुतिसक्नुभएको थियो । राहुल यसोधराको पाखुरामा सिरानी गरेर सुतेका थिए । सिद्धार्थले भित्र गएर यसोधरासँग बिदा लिने विचार गर्नुभयो तर तुरुन्तै रोकिएर पछि हट्नुभयो । यसोधरार्लाइ भन्नुपर्ने सबै कुरा भनिसकेकोले उहाँले यसोधरालाई उठाउनुभएन र पर्दा लगाइदिएर बाहिर निस्कनुभयो ।

छन्न जागै थिए । छन्नलाई उहाँले भन्नुभयो, छन्न कृपा गरेर कन्थकको पीठमा साज कस र म भएको स्थानमा लिएर आउ । कन्थकलाई ल्याएपछि छन्नले सोधे, के म पनि तपाइँको साथमा जान सक्छु ? सिद्धार्थले हुन्छ भनेर सिर हल्लाएपछि छन्न पनि सँगै जान तयार भए ।

दुवैजनाले राजमहल पांगण पार गरे । महल पार गरिसकेपछि सिद्धार्थ थोरै रोकिनुभयो र कन्थक घोडाको गर्दनको रौं थपथपाउनुभयो र भन्नुभयो, कन्थक आजको रात एकदमै महत्वपूर्ण छ । यस यात्राका लागि तिमीले पूरै शक्ति लगाउनु ।

दरबारको पूर्वीै गेटबाट बाहिर निस्किएपछि सिद्धार्थले एकपटक राजधानीलाई हेर्नुभयो र अघि बढ्नुभयो र सोच्नुभयो,–यदि म सद्धर्मको मार्ग खोज्नमा विफल रहेँ भने कहिल्यै पनि कपिलवस्तु फर्कने छैन । तर सिद्धार्थ सद्धर्मको मार्ग खोज्न सफल हुनुभयो । त्यसपछि उहाँ पुनः कपिलवस्तु आएर आफुले प्राप्त गरेको ज्ञान सबैलाई दिनुभएको थियो ।

(बुद्धसम्बन्धी विभिन्न पूस्तकहरुबाट लिइएको)

प्रकाशित मिति : मंगलबार, मंसिर २५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij