काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्य रहेको कार्यदल गठन गरिएकाे छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच आइतबार भएकाे भेटवार्तामा १० सदस्यीय कार्यदल बनाउने सहमति भएकाे हाे।
कार्यदलमा दुवै पक्षका ५–५ जना सदस्य रहने निर्णय भएकाे नेता नेपालले जानकारी दिए। कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। यस्तै, नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन्।
कार्यदललाई तीन दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएकाे भएपनि आवश्यकता अनुसार थप्न सकिने नेता नेपालले बताए। दिउँसो १ बजे देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता सुरु भएकाे हाे।
ओली र नेपालबीच ०७५ जेठ २ आसपासबाट विवादको निकास खोज्ने सहमति बनेको छ। तर, एमालेको विवाद समाधानको लागि बसेका बैठकमा माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादलसमेत बसेपछि नेता नेपाल पक्षले आशंका व्यक्त गरिरहेको छ।
गत शुक्रबार सिंहदरबारमा भएको वार्तामा जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने सहमति भएको थियो। शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आइतबार त्यसैलाई निरन्तरता दिँदै वार्ता टोलीको टुंगो लगाएका हुन्।
प्रकाशित मिति : आइतबार, जेष्ठ २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्