तिलोत्तमा मेयर आवास कार्यक्रम: पुरा हुँदै विपन्नको छानो छाउने सपना

तिलोत्तमा मेयर आवास कार्यक्रम: पुरा हुँदै विपन्नको छानो छाउने सपना

रुपन्देही

विपन्न वर्गका नागरिकलाई सुरक्षित आवासको प्रबन्ध मिलाउन रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर आवास कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।

नगर क्षेत्र भित्रका विपन्न तथा पछाडि परेका आवासको अवस्था कमजोर भएका परिवारका लागि सुरक्षित आवासको प्रबन्ध मिलाउने लक्ष्य अनुसार यो कार्यक्रम शुरु गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको वार्षिक योजनामा आवासको अवस्था कमजोर भएका विपन्न परिवारका लागि मेयर आवास कार्यक्रम मार्फत सुरक्षित आवास उपलब्ध गराउने गरी नीति, कार्यक्रम र बजेट समेत स्वीकृत गरिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो । “ जसको छानो छाउने सपना भएर पनि पुरा भएको छैन त्यस्ता नगरवासीका लागि यो कार्यक्रम अघि सारिएको हो । यसले विपन्नलाई खुशी दिने छ”, प्रवक्ता श्रीले भन्नुभयो ।

कार्यक्रम अन्तर्गत कम्तिमा ५० वटा आवास निर्माणका लागि रु एक करोड विनियोजन गरिएको प्रवक्ता श्रीले बताउनुभयो । समुदायका अति विपन्न नागरिक जसको जग्गा भएर पनि आवास छैन, त्यस्ता नागरिकका साथमा नगर सरकार छ भन्ने अनुभूती दिलाउन मेयर आवास कार्यक्रम ल्याइएको उहाँको भनाइ छ ।

मेयर आवास कार्यक्रम कार्यान्वयनका लागि तिलोत्तमा नगरपालिकाको केही कानुन तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन, २०७४ को दफा ३ र ४ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाइएको छ ।

मेयर आवास कार्यक्रमका लागि नगरपालिकाले निश्चित समय दिएर निवेदन पेश गर्न आह्वान गर्ने र तोकिएको समयमा लाभग्राहीले नगरपालिकाले तोकेको समय भित्र निवेदन पेश गर्नुपर्ने छ ।

प्रवक्ता श्रीका अनुसार नेपाली नागरिकता भइ नगरपालिकामा विगत १० वर्षदेखी स्थायी रुपमा बसोवास गर्दै आएको, जग्गाधनी प्रमाणपत्र भएको, घरको भौतिक अवस्थामा छानो वा भुइ वा भित्ता कच्ची भइ राम्रोसँग हावा पानी छेक्न नसक्ने अवस्था भएको, सम्बन्धित वडा समितिले सिफारिस गरेको परिवारले आवासका लागि आवेदन दिन सक्ने छन् ।

विपन्न व्यक्तीको घरको क्षेत्रफल, भुई, गारो, तथा छानाको किसिम र प्रयोग भएको जग्गाको क्षेत्रफलको आधारमा अंक प्रदान गरिने र अन्य आधारहरु पूरा गरी न्यूनतम ४० अंक प्राप्त गर्ने परिवारलाई मात्र लाभग्राहीको रुपमा छनौट गरिनेछ ।

सगोलमा रहेका परिवारले एक आवास मात्र पाउने गरी लाभग्राही छनौट गरिनेछ । लाभग्राहीको छनौट मेयर अवास कार्यक्रम समितीले गर्ने छ । मेयर अवास कार्यक्रममा विपन्न समुदाय मात्रै सहभागी हुन सक्ने भएकाले तोकिएको योग्यता पुगी छनौट भएका लाभग्राहीलाई मात्रै यसमा सहभागी बनाइने नगरपालिकाका शाखा अधिकृत माधवप्रसाद पोख्रेलले बताउनुभयो ।

एकल महिला मूली भएका, अपांगता भएका, अनाथ बालबालिका, दीर्घरोगी भएका परिवार, विपद वा द्वन्द्व पिडित परिवार, चाहेर पनि घर बनाउन नसकेका परिवार, नेपाल सरकारले पहिचान गरेका सिमान्तकृत वर्गका परिवार तथा नगरपालिकाले तोकेका अन्य आधारहरु पुरा भएका परिवारलाई पनि आवास कार्यक्रमका लागि छनोट गरिने छ ।

कार्यक्रम कार्यान्वयन स्थल पहिचान गर्दा लाभग्राहीको यथास्थानमा हकभोग रहेको जग्गा हुनुपर्नेछ । तर, सेवा सुविधा पु¥याउन र प्राप्त गर्न कठिन स्थान वा प्राकृतिक प्रकोपको जोखिम रहेको स्थान वा सार्वजनिक, सरकारी जग्गामा परेको वा कुनै कारणवाट विवादित घडेरी भएको स्थानमा कार्यक्रम कार्यान्वयन नगरिने नगरपालिकाको कार्यविधी बनेको छ ।

कार्यक्रम कार्यान्वयनका लागि नगरपालिकाले प्रदेश र संघीय सरकारका बिभिन्न निकायहरु र गैर सरकारी संस्थाहरुसँग सहकार्य गरी स्रोतको सुनिश्चितता गर्ने जनाएको छ । कार्यक्रम कार्यान्वयनको क्रममा आवासको ड्रइङ्ग, डिजाइन, स्पेशिफिकेशन मेयर आवास समन्वय समितिले तोके बमोजिम हुनेछ ।

आवास निर्माण गर्दा प्रचालित कानून बमोजिम ठेक्कापट्टा वा उपभोक्ता समिती मार्फत निर्माण गर्न सक्नेछ । उपभोक्ता समिति मार्फत निर्माण गरिदा कम्तिमा १० प्रतिशत नगद वा श्रम सहभागिता सम्बन्धित लाभग्राही परिवार वा उपभोक्ता समितिको हुनुपर्नेछ ।

ठेक्कापट्टाबाट आवास निर्माण गर्दा प्राविधिक प्रतिवेदन अनुसार तोकिए बमोजिम काम सम्पन्न भएपश्चात् नगरपालिकाले लाभग्राहीलाई तोकिएको शर्त बमोजिम भवन हस्तान्तरण गर्नेछ ।

मेयर आवास कार्यक्रम कार्यान्वनमा सहजिकरण गर्न नगर प्रमुखको संयोजकत्वमा समन्वय समिति बनाइने छ । जसमा नगर उप(प्रमुख सदस्य रहने व्यवस्था छ भने नगरपालिकाले तोकेको इन्जिनियर सदस्य सचिव रहने व्यवस्था छ । समितीमा प्रमुख प्रशासकिय अधिकृत, कार्यक्रम कार्यान्वयन हुने वडाका वडा अध्यक्षहरु सदस्य रहनुहुने छ । कार्यपालिकाले तोकेको कार्यपालिकाका एक जना महिला सदस्य सदस्य रहने व्यवस्था गरिएको छ । समितिले आफ्नो कार्यविधि आफै तयार गर्ने छ । बैठकमा आवश्यकता अनुसार सम्बन्धित विज्ञलाई आमन्त्रण गर्न सक्नेछ ।

मेयर आवास समन्वय समितिले सम्बन्धित वडामा कार्यान्वयन गरिने लाभग्राही पहिचान गरी छनौट गर्ने, आवास निर्माणका लागि आवासको ड्रइङ्ग, डिजाइन स्पेशिफिकेशन स्वीकृत गर्ने, कार्यक्रम कार्यान्वयनसँग सम्बन्धित निकायहरु बीच समन्वय गर्ने, कार्यक्रम कार्यान्वयनको क्रममा आईपरेका बाधा अड्चन फुकाउने, कार्यक्रम लागु भएको स्थानमा आवश्यक पर्ने पूर्वाधार बिकासको लागी आवश्यक पहल गर्ने, कार्यक्रम कार्यान्वयनको क्रममा मेयर आवास कार्यान्वयन इकाईलाई आवश्यक निर्देशन दिने, कार्यक्रमको प्रगती समीक्षा गर्ने, आवश्यकता अनुसार कार्यक्रमको अनुगमन गर्ने÷गराउने र कार्य सम्पन्न सिफरिसका आधारमा भुक्तानीको लागि सिफारिसको काम गर्ने छ ।

मेयर आवास कार्यक्रम कार्यान्वयनका लागि नगरपालिकाले तोकेको इन्जिनियर संयोजक हने गरी सम्बन्धित वडा कार्यालयको सचिव, सदस्य सचिव र नगरपालिका वा सम्बन्धित वडाको प्राविधिक सदस्य सहित कार्यान्वयन ईकाई रहने छ

सो कार्यक्रम कार्यान्वयन इकाईले मेयर आवास समन्वय समितिवाट प्राप्त निर्देशन अनुरुप निर्माण कार्य गर्ने÷गराउने, पूर्वाधार र आवास निर्माण गर्ने बिषयमा लाभग्राहीसंग समन्वय कायम गर्ने, लाभग्राहीलाई रकम उपलब्ध गराउन सिफारिस गर्ने, निर्माण कार्यको गुणस्तरियता कायम गर्ने÷गराउने, स्वीकृत ड्रइङ्ग, डिजाइन, स्पेशिफिकेशन बमोजिम आवास ईकाई निर्माण गर्ने÷गराउने, स्वीकृत नाप नक्सा बमोजिम आवास इकाई निर्माण भए नभएको बारे जाँच गरी रकम भुक्तानीको लागि मेयर आवास समन्वय समिति समक्ष सिफारिसको काम गर्ने नगरपालिकाले जनाएको छ ।

कुनै विशेष कारणवश निर्माण कार्य सम्पन्न गर्न नसकेमा निर्माण भएको कार्यको मुल्याङ्कन गरी सोको खर्च मेयर आवास समन्वय समितिको निर्णय बमोजिम फरफारक गर्न सकिनेछ र बाँकी रहेको उक्त निर्माण कार्य प्रचलित कानून बमोजिम अन्य प्रक्रिया मार्फत संचालन गरिनेछ ।

लाभग्राहीले आवास निर्माण सम्पन्न भएको मितिले दश वर्ष सम्म बेच बिखन गर्न पाउने छैन । सो अवधि भित्र उक्त घर तथा जग्गाको बेचबिखन प्रयोजनको लागि नगरपालिकाबाट चारकिल्ला तथा अन्य सिफारिस उपलब्ध गराइने छैन ।

यस कार्यक्रमबाट लाभान्वित हुने उद्देश्यले कुनै व्यक्तिले झुठ्ठा विवरण पेश गरेमा वा त्यस्तो व्यहोरा सिफारिस गरेको ठहर हुन आएमा त्यस्ता व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।

नगरपालिकाबाट बाटो बिस्तार गर्दाको अवस्थाबाट व्यक्तिको उठिबास हुने अवस्था सिर्जना भएमा नगरपालिकाले अन्य बैकल्पिक जग्गाको व्यवस्था गरी मेयर आवास कार्यक्रम लागु गर्न सक्नेछ । नगरपालिकाका निर्वाचित जनप्रतिनिधी र कार्यरत कर्मचारीहरुलाई मेयर आवास कार्यक्रमबाट आवास निर्माण गरिने छैन ।

नगरपालिकाभित्रका न्यून आय भएका परिवारलाई मध्यनजर गरेर मेयर आवास कार्यक्रम ल्याएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । “जसले जग्गा भएर पनि आयस्रोत नहुँदा छानो छाउन सकेका छैनन त्यस्ता विपन्न वर्गका नागरिकलाई मध्यनजर गरी यो कार्यक्रम तय गरिरएको हो”, प्रमुख घिमिरेले भन्नुभयो ।

 

प्रकाशित मिति : आइतबार, चैत्र २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij