प्रधानमन्त्री देउवाद्धारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

प्रधानमन्त्री देउवाद्धारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

बुटवल

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकासको लागि सहरीकरणको ठूलो महत्व रहेको बताउँदै पहाडी तथा हिमाली क्षेत्रको शहरीकरणमा जोड दिनुभएको छ । बसाई सराईका कारण हिमाली तथा पहाडि क्षेत्र रित्तिदै गएको बताउँदै उहाँले हिमाली तथा पहाडी क्षेत्रको शहरीकरणमा जोड दिनुभएको हो ।
बुटवलमा निर्माण सम्पन्न भएको ‘बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’को शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिले व्यवस्थित र सुविधा सम्पन्न सहर बनाउन र सहरी क्षेत्रका बासिन्दाको जीवनस्तर उठाउनको लागि आर्थिक सामाजिक क्षेत्रमा ठोस कार्यक्रमको सुरुवात गर्न आवश्यक रहेको औल्याउनु भयो । उहाँले अहिले पनि नेपालका अधिकांश सहरहरु अव्यवस्थित रुपमा रहेको बताउँदै सुन्दर र स्वच्छ शहरको रुपमा विकास गर्न आवश्यक रहेको भनाई राख्नुभयो ।
मुलुकमा संघीय शासन प्रणाली लागु भएसँगै तीन तहका सरकार क्रियाशिल रहेको बताउँदै नेपाली काँग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले संघीय शासन प्रणालीलाई दीगो र भरपर्दो बनाउनको लागि शहरीकरणको निश्चित मापदण्ड तयार गरी शहरी पूर्वाधार निर्माण कार्यलाई अगाडी बढाउनु पर्ने भनाई राख्नुभयो ।
उहाँले त्यसको लागि प्रदेश र पालिका स्तरमा आपसी सहकार्य गर्दै सहरी पूर्वाधारलाई व्यवस्थित रुपमा अगाडि बढाउन आवश्यक देखिएको बताउनु भयो । व्यवस्थित शहरीकरणबाट मात्रै मुलुकको प्रभाव र आर्थिक गतिबिधिलाई समेत गति दिन सकिने हुँदा प्रदेश र स्थानीय तहले मिलेर सहरीकरणलाई प्राथमिकताका साथ कार्य गर्न आवश्यक रहेको दोहो¥याउनु भयो । प्रधानमन्त्री देउवाले यसले दीगो विकास लक्ष्य हासिल गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै यसले संघीयतालाई पनि बलियो बनाउने उहाँको भनाई छ ।
व्यवस्थित शहरीकरण नभएकै कारण पहाड तथा तराईका बस्तीहरुबाट अत्यधिक बसाईसराई भईरहेको पनि उहाँले बताउनु भयो । यसले मुलुकको जनसंख्या असन्तुलन हुने बताउँदै उहाँले बसाई सराईलाई निरुत्साहित गर्नको लागि हिमाली तथा पहाडी क्षेत्रहरुमा सहरहरु विकास गर्न आवश्यक रहेको भनाई राख्नुभयो ।
प्रधानमन्त्री देउवाले बुटवलमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको समयमै निर्माण सम्पन्न गर्न योगदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यसले बुटवलको आर्थिक तथा सामाजिक क्रियाकलापलाई समेत बढाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
२०७१ सालमा निर्माण सुरु भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र १ अर्व ११ करोड ७६ लाख रुपैंयामा निर्माण सम्पन्न भएको हो । जसमा ठूलो साना १२ वटा हल निर्माण गरिएको छ । सबैभन्दा ठूलो हल १ हजार सिट क्षमताको छ भने सबैमा गरि करिव ५ हजार क्षमता रहेको शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले जानकारी गराउनु भयो । उहाँका अनुसार भवनको उत्तर र दक्षिणमा दुई वटा बहुउद्देश्यीय भवन निर्माण गरिएको छ । त्यसको संरचना पूर्ण रुपमा अपांगमैत्री बनाईएको छ । भिआईपि समेत गरी ५ वटा गेट, हेलीप्याड, माथिबाट हेर्दा छतको भाग नेपालको झण्डा अंकिछ छ । भवनमा वातानुकुलित र अग्नी नियन्त्रण प्रणाली जडान गरिएको छ । त्यस्तै भवनको परिसरमा ४ सय वटा चारपाँग्रे र ४ सय वटा दुई पाँग्रे र सवारी साधन पार्किङ गर्न मिल्ने पार्किङ स्थल राखिएको छ ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणले यस क्षेत्रको आर्थिक क्रियाकलापलाई चलायमान बनाउने बताउँदै यसको दीगोपनाको लागि सञ्चालनमा अतिरिक्त आर्थिक भार नपर्ने गरी मापदण्ड बनाईनु पर्ने भनाई राख्नुभयो । उहाँले भैरहवामा निर्माण सम्पन्न भई उद्घाटन भएको अन्तर्राष्ट्रिय विमानस्थल, विस्तारको काम भईरहेको बुटवल–नारायणगढ सडक, यसै वर्ष निर्माण सुरु हुने सिद्धबाबा सुरुङ् मार्ग र दाउन्ने सुरुङ मार्ग, बुटवल औद्योगिक क्षेत्र, बुटवलका उद्योगी व्यवसायीहरुको ड्रिम प्रोजेक्ट मोतिपुर औद्योगिक क्षेत्र लगायतको निर्माण सम्पन्न पछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आवश्यकता अझै बढेर जाने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुटवलमा निर्माण पुरा भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले यहाँको आवश्यकता पूर्ति भएको बताउँदै सञ्चालन कसरी गर्ने त्यसको चाडो मापदण्ड तय गरिनुपर्ने भनाई राख्नुभयो । उहाँले लुम्बिनी प्रदेश सरकारले रामपुर–कपुरकोट पहाडी मार्ग, लुम्बिनी प्रादेशिक अस्पतालको विकास लगायतका ४ वटा प्रदेशको गौरवको आयोजना सञ्चालन गरिएको बताउँदै त्यसमा सहयोग गर्न संघीय सरकारलाई आग्रह गर्नुभयो ।
त्यस्तै पूर्व उपप्रधान तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको लागि राजनीतिक सहकार्यकै कारण विकासको लागि रुपन्देहीले नयाँ मानक स्थापना गर्न सक्षम रहेको भनाई राख्नुभयो । उहाँले निर्वाचनको मिति घोषणा भईसकेकाले यो सरकारसंग धेरै अपेक्षा गर्न पनि नसकिने भनाई राख्नुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, पूर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्री, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र कुन मोडेलमा सञ्चालन गर्ने, मापदण्ड कस्तो बनाउने, त्यसको विजनेश र अप्रेसन विचको सामन्जश्य हुनेगरी मापदण्ड बनाउनु पर्ने भनाई राख्नुभएको थियो ।
त्यसै अवसरमा बुटवलका नगरप्रमुख पाण्डेयले बुटवलको सडक, ज्योतीनगर पहिरो व्यवस्थापन, सुकुम्बासी समस्या समाधान, मोतिपुर औद्योगिक क्षेत्रको निर्माण, तिनाउ दानव कोरिडोर निर्माणको लागि संघीय सरकारले पहलकदमी लिईदिनको लागि आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति : शनिबार, भाद्र ११ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij