बुटवल–नारायणगढ सडक विस्तारको कामलाई तीब्रता दिन बुटवल उपमहानगरपालिकाद्वारा ध्यानाकर्षण

बुटवल–नारायणगढ सडक विस्तारको कामलाई तीब्रता दिन बुटवल उपमहानगरपालिकाद्वारा ध्यानाकर्षण

 

बुटवल

बुटवल–नारायणगढ सडक विस्तारको कामलाई तीब्रता दिन बुटवल उपमहानगरपालिकाले आयोजना कार्यालयको ध्यानाकर्षण गराएको छ ।

बुधबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नारायणगढ–बुटवल सडक आयोजना (पश्चिम) का प्रमुख प्रदीपराज शाक्य, परामर्शदाताहरु शुभम सैजु र सुरेश विष्टसँग छलफल गर्दै सडक विस्तारको काम बुटवलबाट शुरु गर्न आग्रह गर्नुभयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र पूर्वाधार विकास शाखाका प्रमुख गौतम रौनियार र आयोजना पक्षको उपस्थितिमा बुटवल उपमहानगरपालिकाको कार्यालयमा भएको छलफलमा प्रमुख पाण्डेयले सडक विस्तारको काम समयमा नहुँदा दुर्घटना बढेको, धुलोका कारण आसपासको बस्ती र व्यवसाय प्रभावित भएको, शहर कुरुप भएकोलगायतका विषयलाई पनि चासो दिन ध्यानाकर्षण गराउनुभयो ।

‘उतिबेला बुटवलबाट सडक विस्तारको काम हुन्छ भनिएको थियो, तर सडक विस्तारको काम भनेजसरी शुरु हुन सकेको छैन, उहाँले भन्नुभयो–यसमा आयोजना कार्यालयले बुटवल क्षेत्रको अवस्थालाई बुझेर सोहीअनुसार विस्तारको काम अघि बढाउनुस्, हामी कसरी सहकार्य र सहयोग गर्नुपर्ने हो, हामी तयार छौं ।’

नगरप्रमुख पाण्डेयले रामनगरस्थित पशु बधशाला जाने बाटोको व्यवस्थापन गर्नका लागि आवश्यक सहजीकरण गर्न आग्रह गर्नुभयो । ‘सडकको डिजाइनमा पशु बधशाला जाने बाटो रहेनछ, बधशाला निर्माण भइसकेको छ, त्यहाँ जाने बाटो पनि डिजाइनभित्र राखेर व्यवस्थापन गर्ने कुरामा योजना कार्यालयले सहजीकरण गर्नुपर्छ–उहाँले भन्नुभयो–बधशालामा जाने बाटो डिजाइनमा राखेर दीर्घकालीन रुपमै व्यवस्थापन होस् भन्ने हाम्रो चाहना हो ।’

छलफलका क्रममा आयोजना प्रमुख प्रदीपराज शाक्यले सडक विस्तारको कामलाई तीब्रता दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले निर्वाचनलगत्तै सडक विस्तारलाई अघि बढाउने गरी तयारी भएको बताउनुभयो । रामनगरस्थित पशु बधशाला जाने सडक निर्माणका लागि डिजाइनमै राखेर काम अघि बढाउने उहाँले बताउनुभयो ।

बुटवल–नारायणगढ सडक निर्माण भएको ५७ वर्षपछि फराकिलो गर्ने गरी २०७५ सालको माघ २४ गते सम्झौता भएको थियो ।

अहिले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको ११४ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ ।

२०७५ चैत ८ गते बुटवलबाट शिलान्याश भएको सडक कतै चार लेन, कतै ६ र तीन लेनको बनाउन लागिएको आयोजना प्रमुख शाक्यले बताउनुभयो ।

गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।

१६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहेको छ ।

प्रकाशित मिति : बुधबार, कार्तिक ३० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij