काठमाडौं :
तिथिका हिसाबले पूर्णिमा बिहीबार भए पनि कोजाग्रत पूर्णिमा बुधबार मनाइँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन कोजाग्रत पूर्णिमा मनाउने परम्परा छ।
पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोका अनुसार बुधबार बिहान सूर्योदय चतुर्दशीको छ, जुन ३४ घडी १७ पला अर्थात् साँझ ७ बजेर ४८ बजेसम्म रहन्छ। त्यसपछि पूर्णिमा तिथि लाग्छ। बिहीबार २८ घडी १४ पला अर्थात् अपराह्न ५ बजेर २३ मिनेटसम्म पूर्णिमा रहन्छ।
बिहीबार अपराह्नपछि पूर्णिमा तिथि नभएकाले बुधबार नै कोजाग्रत पूर्णिमा मनाउन निर्देश गरेको समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले बताए।कोजाग्रत पूर्णिमामा दिनभर उपवास बसी रात्रिमा धनधान्यकी देवी लक्ष्मीको आराधना गर्ने परम्परा छ। रातभर जाग्राम बसी देवी लक्ष्मीको पूजाअर्चना गर्ने विधि उल्लेख छ।
आजको दिन सायङ्कालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका व्यक्तिको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन थालिएको हो । माता दुर्गाका तीनवटा रुपमध्येका एउटा रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।
नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने असोज शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ
नेपाली सनातन समाजमा विजयादशमीदेखि शुरु भएको टीका जमरा लगाउने क्रम पूर्णिमाकै दिन सकिन्छ। कोजाग्रत पूर्णिमाका दिन बिहान जमरा विसर्जन गर्ने परम्परा पनि छ। तर यो वर्ष दिनभर पूर्णिमा तिथि रहेकाले बिहीबार पनि टीका लगाउन सकिने बताइएको छ।
वैदिक कालगणनाका अनुयायीले भने तिथि नटुट्ने मान्यताअनुरूप बिहीबार नै कोजाग्रत पूर्णिमाको विधि गर्दैछन्।
प्रकाशित मिति : बुधबार, असोज ३० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्