काठमाडौ, झन्डै दुई हप्ता अघि नै मध्य जेठमा मनसुन नेपाल भित्रिए पनि सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालगञ्जमा हिजो सबैभन्दा धेरै अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ ।
त्यस्तै धनगढीमा अधिकतम तापक्रम ४० दशमलव २ र भैरहवामा ४० डिग्री सेल्सियस मापन भएको छ । तराई/मधेसका अरू ठाउँमा पनि तापक्रम केही बढेको छ । काठमाण्डौमा पनि गर्मी बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन देशभर विस्तार हुन अझै हप्ता/दश दिन लाग्न सक्ने देखिएको छ । आज कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली हुन सक्ने अनुमान छ । भोलिदेखि पानी पार्ने प्रणाली केही सक्रिय हुने र गर्मीबाट राहत पुग्न सक्ने मौसमविदको अनुमान छ ।
यसैबीच गर्मी बढेसँगै जनजिवन प्रभावित बन्न थालेको छ । गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या हुन सक्ने डाक्टरले बताएका छन् । सकेसम्म दिउँसोको चर्को घाममा घरबाट ननिस्कन र निस्कनै परेमा छाता ओढ्न, शितल छहारीमा बस्न, पानी तथा सर्वत पिउन डाक्टरको सल्लाह छ ।
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। कोशी प्रदेशका अधिकांश भूभागमा भने मनसुनी वायुको प्रभाव छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली छ।
दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्