रुपन्देही – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट शुशीला पुलामीले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । चुनाव चिह्न मुढा लिएर मैदानमा उत्रिएकी पुलामीले यस क्षेत्रबाट सधैं पुरुष मात्रै संसदमा पुग्ने परम्परालाई तोड्दै महिला नेतृत्व स्थापित गर्ने उद्घोष गरेकी छन्।
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–४ मगरडाँडामा वि।सं। २०३८ कात्तिक २५ गते जन्मिएकी शुशीला पुलामी बुबा भक्तबहादुर पुलामी र आमा स्वर्गीय मधु पुलामीकी माहिली छोरी हुन्। उनको विवाह गुल्मी धुर्कोट गाउँपालिका–४ निवासी हरिबहादुर घर्तीमगरसँग भएको छ र उनका एक छोरा छन्।
शिक्षाको क्षेत्रमा सक्रिय पुलामीले काठमाडौंको पद्मकन्या क्याम्पसबाट स्नातक तहसम्म अध्ययन पूरा गरेकी छन्। सानैदेखि विद्रोही, जुझारु र प्रगतिशील स्वभावकी पुलामी किशोरावस्थामै सामाजिक तथा राजनीतिक यात्रामा होमिएकी थिइन्। तत्कालीन नेकपा ९माओवादी० का नेता डा। बाबुराम भट्टराईको विचार र व्यक्तित्वबाट प्रभावित हुँदै उनलाई राजनीतिक आइडल मानेर सक्रिय राजनीति सुरु गरेको उनी बताउँछिन्।
विवाहपछि युएई पुगेकी पुलामी त्यहाँ श्रमिकको रूपमा काम गर्दै सामाजिक–राजनीतिक गतिविधिमा पनि अग्रसर रहिन्। व्यस्तताबीच पनि उनी नेपाल मगर संघ युएईको दुई कार्यकाल अध्यक्ष, आदिवासी जनजाति परिषद् युएईको महासचिव तथा तत्कालीन संघीय समाजवादी फोरम युएईको महासचिवको जिम्मेवारीमा रहिन्।
२०७७ साल कात्तिकमा नेपाल फर्किएपछि कोभिड–१९ को भयावह अवस्थामा पनि उनी हजारौं भूमिहीन सुकुम्बासी तथा तिनाउ–दानव करिडोर पीडितहरूको आन्दोलनमा सक्रिय भइन्। उक्त आन्दोलनको पहिलो दिनदेखि एकल नेतृत्व आफूले नै गरेको दाबी गर्दै पुलामी भन्छिन्, “त्यो बेला आवाज नउठाएको भए आज करिडोर क्षेत्रका बस्तीहरू अस्तित्वमै नहुन सक्थे।”
पुलामी समाजवादी महिला संघ लुम्बिनी प्रदेशको दुई कार्यकाल अध्यक्ष भइसकेकी छन्। जसपा नेपाल विभाजनपछि डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० की केन्द्रीय सदस्य रहँदै २०८१ माघ २७, २८ र २९ गते काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य बनेकी थिइन्।
पछि उनले नेसपा ९नयाँ शक्ति० को केन्द्रीय सदस्य पदबाट राजीनामा दिँदै २०८२ असोज ३१ गते हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी रुपन्देहीको भेलाबाट संस्थापक अध्यक्षको जिम्मेवारी सम्हालिन्। आन्तरिक तालमेलका लागि लुम्बिनी प्रदेश सह–संयोजकमा रहेकी पुलामीले २०८२ माघ ५ गते पार्टीभित्र चरम गुटबन्दी, जातिवाद, आत्मकेन्द्रित र अराजनीतिक गतिविधि भएको आरोप लगाउँदै पार्टी परित्याग गरिन् र स्वतन्त्र रहने घोषणा गरिन्।
रुपन्देही जिल्ला तथा निर्वाचन क्षेत्र नम्बर २ लाई सधैं ‘ठट्टा–मजाकको क्षेत्र’ बनाइने र पुरुष मात्रै सांसद बन्ने प्रवृत्तिको आलोचना गर्दै पुलामीले यसपटक महिला निर्वाचित गराएर इतिहास रच्नु
पर्ने समय आएको बताइन्।
“अब परम्परा तोड्नुपर्छ, महिला नेतृत्व स्थापित गर्नुपर्छ,” उनले भनिन्, “त्यसकै लागि म स्वतन्त्र उम्मेदवार बनेर जनताको बीचमा आएको हुँ।”
प्रकाशित मिति : सोमबार, माघ १९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्