काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि देशभरको मौसममा क्रमिक रूपमा सुधार आउने जनाएको छ।
बिहीबार र विशेषगरी शुक्रबार केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको हो।
मौसमविद् रोजन लामिछानेले बिहीबारको पूर्वानुमानबारे जानकारी दिँदै शुक्रबार वर्षाको गतिविधि बढ्ने तर शनिबारदेखि मौसम सफा हुँदै जाने बताए।पछिल्लो २४ घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा बढी वर्षा भएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मात्र पानी परेको छ। डडेल्धुरा र कैलाली आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टामा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ। बिहीबार बिहान इलाम, झापा, सर्लाही, महोत्तरी र धनुषा आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको र अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।
बिहीबार दिउँसो पहाडी भूभागका ५० देखि ८० प्रतिशत स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा १० देखि ३० प्रतिशतसम्म वर्षाको सम्भावना रहेको लामिछानेले जानकारी दिए।
उनका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्छ। रातिको समयमा भने दिउँसोको तुलनामा मौसममा केही सुधार आउनेछ। पहाडी भूभागका एक–दुई स्थान र कोशी तथा मधेस प्रदेशका तराई क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भए पनि राति भारी वर्षाको सम्भावना छैन।
शुक्रबार भने वर्षाको गतिविधि फेरि बढ्ने पूर्वानुमान विभागको छ। कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती र सुदूरपश्चिमका पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा हावाहुरी र चट्याङसहित भारी वर्षाको सम्भावना छ।
यसैकारण विभागले शुक्रबारका लागि कोशी र बागमती प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिमका केही स्थानमा ‘पहेँलो रङ’ को चेतावनी जारी गरेको छ। मौसमविद् लामिछानेका अनुसार पहेँलो रङको अर्थ मौसमको अवस्थाबारे अद्यावधिक भइरहनु र पूर्वतयारी गर्नु हो। शुक्रबार रातिदेखि भने पश्चिमी क्षेत्रबाट मौसम क्रमिक रूपमा सुधार हुँदै जानेछ।
शनिबार दिउँसो कोशी र बागमतीका पहाडी भूभागलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मात्र हल्का वर्षा हुनेछ। तराईका क्षेत्रमा शनिबार वर्षाको सम्भावना निकै कम छ। शनिबार रातिदेखि देशभरको मौसम पूर्ण रूपमा सुधार हुने र वर्षा नहुने विभागको अनुमान छ। यद्यपि कोशी र बागमती प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात हुन सक्ने सम्भावना छ। शनिबारका लागि देशभर कुनै पनि चेतावनी जारी नगरिएको र सबै प्रदेशलाई सुरक्षित जनाउने ‘हरियो रङ’ मा राखिएको छ।
शुक्रबार मौसम केही खराब रहे पनि त्यसपछि सुधार आउने भएकाले सतर्क रहन विभागले सुझाएको छ। मौसमविद् लामिछानेले मौसमको अवस्था परिवर्तन भइरहने हुँदा विभागको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत निरन्तर जानकारी लिन सबैलाई आग्रह गरे।
‘शुक्रबार वर्षाको गतिविधि बढ्ने भए पनि शनिबारदेखि क्रमिक रूपमा मौसम खुल्दै जानेछ, त्यसैले पछिल्लो मौसमी सूचनामा अद्यावधिक रहन आग्रह गर्दछु,’ लामिछानेले भने।
प्रकाशित मिति : बिहिबार, असोज २२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्