भैरहवा ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले आउँदो डिसेम्बर सम्म काम सम्पन्न गर्नेगरी भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र गतिमा भइरहेको बताउनु भएको छ ।
शुक्रबार विमानस्थलको निरीक्षण गर्दै मन्त्री भट्टराईले कोरोना कहरबीच पनि विमानस्थलको निर्माण नरोकिएको बताउँदै डिसेम्बर सम्म काम सक्नेगरी अहिले धमाधम काम भएको बताउनु भयो । मन्त्री भटटराइले केही उपकरण र उपकरण जडान गर्ने दक्ष जनशक्ति कोरोनाका कारण ल्याउन नसकिएकाले काममा केही ढिलाई भएको बताउनुभयो ।
मन्त्री भट्टराईले जतिसक्दो छिटो दक्ष जनशक्ति आउँछन्, उति छिटो विमानस्थल निर्माण सकिने बताउनुभयो ।नेपाल सरकारले राष्ट्रिय गौरवका आयोजना अन्तर्गत निर्माण गरिरहेका २१ आयोजनामध्ये गौतमबुद्ध विमानस्थल सबैभन्दा छिटो सम्पन्न हुने बताउँदै मन्त्री भट्टराईले सबै पक्षको समन्वयमा कोरोनाको महामारीमा पनि काम नरोकिएकाले आयोजना सन्तोष जनक रुपमा अघि बढेको बताउनुभयो ।
विमानस्थल निर्माण सकिएपछि तत्कालै संचालनमा आउने मन्त्री भटटराइले बताउनु भयो ।
नागरिक उड्डय प्राधीकरणका महानिर्देशक राजन पोखरेलले उपकरण जडानका लागि दक्ष जनशक्ति तत्काल आए डिसेम्बरमै निर्माण सकिने र त्यसपछि अन्तर्राष्ट्रिय उडान संचालनका लागि प्रमाणीकरण गर्ने गरी काम अघि बढेको बताउनुभयो ।विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीले लकडाउनमा पनि आयोजनाका थुप्रै काम भएको बताउनु भयो ।
एयर कन्डिसनसँग सम्बन्धित चिनियाँ कामदार लकडाउनले चीनतर्फ रोकिएको बताउँदै आयोजना प्रमुख अधिकारीले उपकरण जडानका लागि अमेरिका, अष्ट्रिया, थाइल्याण्ड लगायतका मुलुकबाट पनि जनशक्ति ल्याउनु पर्ने बताउनुभयो ।
विमानस्थलमा अहिले टायल विछ्याउने, कन्ट्रोल टावर, टर्मिनल भवनमा फिनिसिङ र उपकरण जडान, विद्युतीकरण, भवनहरु फिनिसिङको काम भइरहेको र जनशक्ति नआउँदासम्म उपकरण जडानको काम हुन नसक्ने आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।विमानस्थलको अहिलेसम्म ९२.दशमलव ५ प्रतिशत काम सम्पन्न भएको छ । विमानस्थल निर्माणको काम चौथोपटक थपिएको समयमा पनि नसकिएपछि पाँचौपल्ट थप गरी २०२० को डिसेम्बरसम्म पुर्याइएको छ । आयोजना चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले निर्माण गरीरहेको छ ।
प्रकाशित मिति : शनिबार, भाद्र २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्