नवलपरासी
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा बँदेल मार्न थापेको पारोमा परी एकजनाको मृत्यु भएको छ। उक्त पासोमा परी नगरपालिका-१४ पर्सावलका ५५ वर्षीय होमनारायण यादवको मृत्यु भएको हो। नजिकैको जंगलबाट आउने बँदेलले धान खेती नष्ट गरेको भन्दै विद्युतीय पासो थापिएको स्थानीयको भनाइ छ।
शुक्रबार राति घरबाट निस्किएका होमनारायण घर नफर्किएपछि निजकी श्रीमती सोनीया यादवले खाजतलासका लागि प्रहरीमा निवेदन दिएपछि प्रहरीले खोजी कार्य अगाडि बढाएको थियो।
खोजतलास गर्ने क्रममा प्रहरीले मृतक होमनारायणसँगै मिलेर अन्य चार जनाले पासो थापेको र पासोमा परि यादवको मृत्यु भएपछि चारजना नै फरार भएको तथ्य फेला पारेको थियो।
फरारमध्ये २ जना सोही गाउँका बाबुराम चौधरी र मोहन चौधरीलाई प्रहरीले रुपन्देहीबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको र अन्य दुई जनाको खाजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए।
पक्राउ परेका २ जनाले बयानको क्रममा पासोमा परी मृत्यु भएपछि केही पर कुलोमा खाल्डो खनेर पुरेको बयान दिएको लामाले बताए।
प्रहरीले आइतबार (आज) मृतकको शव निकालेको छ। शुक्रबार राति पाँच जना मिलेर पासो थापेर घर गएको र पासोमा बँदेल परेपछि खबर गर्ने जिम्मा होमनारायणलाई दिएकोमा उनले राती अबेरसम्म पनि खबर नगरेपछि पासो थापेको ठाउँमा पुग्दा होमनारायण मृत अवस्थामा देखेपछि खाल्डो खनेर पुरेको पक्राउ पर्नेले बताएको लामाले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको पनि लामाको भनाइ छ।
प्रकाशित मिति : आइतबार, भाद्र २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्