काठमाण्डाै – उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन्
जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा अग्रवाललाई काठमाण्डौको त्रिपुरेश्वरमा रहेको निवासबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
बुधवार बेलुका पक्राउ परेका उद्योगी अग्रवाललाई कारबाहीका लागि बिहीवार सर्लाही पठाइएको पनि उहाँले बताउनुभयो । अग्रवालविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ठगीसम्बन्धी उजुरी परेको छ ।
सर्लाहीका उखु किसानले १७ करोड रुपैयाँ दाबी गर्दै अग्रवाललाई पक्राउ गर्न दिएको निवेदनका आधारमा काठमाण्डौबाट पक्राउ गरि थप अनुसन्धानका लागि सर्लाही पठाइएको हो । अग्रवाल सञ्चालक रहेको दुई वटा चिनी मिलले उखु किसानलाई आठ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी छ ।
चिनी उद्योगले उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै किसानले गएको मङ्सिर २८ गतेदेखि काठमाण्डौमा आन्दोलन गरेका थिए । किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच पुस १३ गते २१ दिनभित्र बक्यौता रकम भुक्तानी गर्ने सहमति भएको थियो तर चिनी उद्योगले अझै उखु किसानको सबै बक्यौता रकम भुक्तानी गरेका छैनन् ।
यसअघि बक्यौता रकम भुक्तानी नगरेको भन्दै लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको थियो ।
प्रकाशित मिति : बिहिबार, माघ १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्