सरकारले समायोजन गरेको ढुवानी भाडा लागु गर्न भारतीय ओभरलोड नियन्त्रण जरुरी:ट्रक यातायात ब्यवसायी

सरकारले समायोजन गरेको ढुवानी भाडा लागु गर्न भारतीय ओभरलोड नियन्त्रण जरुरी:ट्रक यातायात ब्यवसायी

 

बुटवल

भारतीय ओभरलोड गाडीका कारण नेपाली यातायात व्यवसायीको पेशा संकटमा परेको भन्दै नेपाली ट्रक ब्यवसायीहरुले आन्दोलन चर्काउने चेतावनी दिएका छन् । पटक पटकको अनुरोध सरकारले नसुन्ने भए पछि अब सडकमै सुतेर भए पनि भारतीय ओभरलोडलाई निर्मूल गर्ने ब्यवसायीहरुको भनाई रहेको छ ।

लुम्बिनी प्रदेश नेपाल ट्रक यातायात ब्यवसायी समिति र ढुवानी समितिले शनिवार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल सरकारले भारतीय ओभरलोड गाडीहरु ब्यवस्थापन गर्नुपर्ने र यसो नगरे एक मुठी पनि भारतीय ओभरलोड रहेका सामान नेपाल छिर्न नदिने चेतावनी दिएका छन ।

नेपाल ट्रक यातायात ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले अहिले नेपाल सरकारले मालवाहक सवारीका लागी भाडादर तोके पनि ओभर लोडकै कारण नेपाली ट्रक ब्यवसायीले न्यूनतम भाडादर पनि नपाउने समस्या रहेको जिकिर गर्नु भयो । भारतीय ट्रक तुलनात्मक रुपमा सस्तो रहेको, ओभरलोड बोकेको कारण नेपाली ट्रकहरु भारतीयको प्रतिष्प्रर्धा गर्न नसकेको उहाँको भनाई छ । बिभिन्न तहमा रहेको सरकारी अधिकारीहरुको सेटिङमा ओभरलोड गाडीहरु निर्वाध रुपमा नेपाल भित्रिरहेको व्यवसायीहरुको आरोप छ ।

सरकारले असार २९ गते निर्णय गर्दै नेपालका बिभिन्न ६१ स्थानका लागी मालबाहक सवारीको लागी भाडादर तोकिदिएको छ । करिब ७ बर्ष यता भाडादर समायोजन नभएको अवस्थामा अहिले समायोजन भए पनि तोकिएको भाडा नपाउने अवस्था रहेको छ ।

बेलहिया नाका हुँदै प्रवेश गर्ने भारतीय गाडीको ओभरलोडलाई छुट दिदा ट्रक व्यवसायीहरु मर्कामा परेको बताउदै ब्यवसायीले सिमा नाकामै समय समयमा भारतीय ट्रक रोक्ने गरेका छन् ।

देश भित्रै ढुवानी गर्ने नेपाली नम्बर प्लेटका ट्रकलाई ओभरलोडमा कडाई गरेको प्रहरीले भारतबाट आउने भारतीय गाडीमा ओभरलोड छुट दिने गरेको गुनासो आउने गरेको छ । कानुन सबैलाई समान हुनुपर्ने भन्दै ओभरलोड नियन्त्रण गर्न व्यवसायीहरुले माग राख्दै आए पनि अहिले सम्म यसको सुनुवाई हुन सकेको छैन ।

ट्रक ब्यवसायीहरुले नेपालको २ प्रमुख नाका बिरगंज र भैरहवा नाकालाई लक्षित गरि ओभरलोड नियन्त्रण गर्ने राणनिति अगाडी बढाउने बताएका छन् । नेपाल ट्रक यातायात ब्यवसायी महासंघका निर्वतमान अध्यक्ष अर्जुन रानाभाटले भारतबाट आउने ठूला प्रकृतिका समानलाई केही नगरे पनि पल्टि गरेर नेपाली ट्रकले बोक्न मिल्ने सामाग्रीको हकमा ओभरलोड नियन्त्रण गर्ने बताउनु भयो ।

मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । निर्देशिकाको बुंदा नम्बर १० मा पनि “तोकिएको भारवाहन क्षमता भन्दा बढी भार बोकी आएका मालवाहक सवारी साधनले प्रचलित कानून अनुसारको जरिवाना गर्नुको साथै बढी भएको समान झारी सवारी धनिले नै त्यस्तो समानको भण्डारणको ब्यवस्था मिलाउनु पर्ने” भनि उल्लेख गरेको छ ।

नेपालका सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालबाहक यस्ता सवारी साधनले आफ्नो क्षमता भन्दा दोब्बर बढी भार बोक्ने गरेका छन् । ९६ टन सम्म भारवाहन गरेका मालवाहक गाडीहरु नेपाल भित्रिरहदा ट्राफिक प्रहरीले १ हजार ५ सय जरिवाना लिएर नेपाल भरि प्रवेशको स्विकृति दिएको हुन्छ ।

नेपाल ट्रक यातायात ब्यवसायी समिति लुम्बिनी प्रदेश यसको नियन्त्रणमा कडाईका साथ लाग्ने समितिका अध्यक्ष यम प्रसाद पाण्डले बताउनु भयो । उहाँले ओभरलोड गर्ने र निर्धारित भाडादर भन्दा कम भाडा लिए त्यस्ता ट्रकको बिमा संस्थाले नब्यर्होने र समितिवाट गाडीको खारेज गर्ने सम्मको कदम चालिने चेतावनी दिनु भयो ।

पत्रकार सम्मेलनमा लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णु खरेल पश्चिमाञ्चल यातायात व्यवसायी समितीका महासचिव जीत बहादुर भाट ढुवानी व्यवसायी समिती रुपन्देहीका अध्यक्ष श्याम बहादुर हमाल र व्यवसायीहरुले सरकारले समायोजन गरेको भाडा लागु गर्नका लागि पनि भारतीय गाडीको ओभरलोड नियन्त्रण जरुरी रहेकोे औल्याएका छन ।

 

 

प्रकाशित मिति : शनिबार, भाद्र ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij