काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) व्याख्यात्मक घोषणासहित पारित गर्न आग्रह गर्नुभएको छ ।प्रतिनिधि सभाको आज आइतवारको बैठकमा नेपाल सरकार र एमसीसीबीच भएको अनुदान सहायता सम्झौतामाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले यस्ताे बताउनुभएको हो ।
सबैको सहमतिमा एमसीसी पारित होस् भन्ने कांग्रेसको चाहना रहेको र त्यसका लागि प्रयास गरेको बताउँदै उहाँले नेपालले सबैसँग सहयोग लिएर विकास गर्नुपर्छ भनेर नै यसअघि भारतसँग बिप्पा, चीनसँग बीआरआई र अमेरिकासँग एमसीसी सम्झौता गरिएको स्पष्ट पार्नुभयो ।
वर्तमान संसदमा रहेका सबै पूर्वप्रधानमन्त्री र पछिल्ला १० वर्षका सरकारमा रहेका सबै दल एमसीसी सम्झौतालाई अगाडि बढाउन संलग्न भएको स्मरण गराउँदै उहाँले पहिला सम्झौता गरेर अहिले विरोध गर्नुको कुनै अर्थ नभएको बताउनुभयो । एमसीसी सम्झौता अनुमोदन भएपछि नेपालको कानुनभन्दा माथि हुन्छ भनेर अनावश्यक हल्ला फैलाइएको दाबी गर्दै नेता थापाले सबैले सम्झौता गरेको अवस्थामा सबै मिलेर सम्झौताका बारेमा स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
नागरिकस्तरबाट उठेका प्रश्नको संसद्ले स्पष्ट पार्नुपर्ने आवश्यकता ठहर गर्दै व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन गरिनुपर्ने उहाँको भनाइ थियो । व्याख्यात्मक घोषणामा लेखिएको विषय अर्को पक्षले मानेपछि मात्र सन्धि अगाडि जाने उल्लेख गर्दै सन्धिमा लेखिएभन्दा तलमाथि भए पनि नेपालले सन्धि खारेज गर्छ भन्ने विषय पारित गरिनुपर्ने बताउनुभयो ।
‘एमसीसी पारित गरौँ; अमेरिका, चीन, भारतसँग सहयोग लिएर देशको पक्षमा काम गरौँ’, सांसद थापाले भन्नुभयो, ‘उठेका प्रश्न व्याख्यात्मक घोषणा सरकारले ल्याओस् त्यसमा छलफल गरौँ, घोषणासहित त्यसलाई पारित गरौँ ।’
प्रकाशित मिति : आइतबार, फाल्गुन १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्