भैरहवा
गृहमन्त्री बालकृष्ण खाँणले अब छिट्टै गठबन्धनको सरकार बन्ने र उक्त सरकारले उद्योगी–व्यवसायीले भोग्दै आएको बैंक ब्याजदर लगायतका समस्या समाधान गर्ने बताएका छन् । शुक्रबारबाट भैरहवामा सुरु आठौं लुम्बिनी राष्ट्रिय महोत्सव उद्घाटन गर्दै गृहमन्त्री खाँणले नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रलाई अझै चलायमान बनाउने र उद्योगी–व्यवसायीको संरक्षण गर्ने नै रहेको जनाए । ‘उद्योगी–व्यवसायी राष्ट्रको मेरुदण्ड हुन्, सरकारले सधै सकारात्मक सहयोग गर्छ र अब बन्ने सरकारले अझै प्राथमिकता दिन्छ’, उनले भने ।
खाँणले नेपालको पर्यटन प्रबद्र्धन र अर्थतन्त्र चलायमान बनाउन मुलुकको जुनसुकै स्थानमा रहेका होटल, रेष्टुरेन्ट लगायतका व्यवसाय राती १२ बजेसम्म संचालन गर्नका लागि सरकारले अनुमती दिएको जनाए । यस भन्दा अघि राती १० बजेसम्म खोल्ने र त्यसपछि बन्द गर्ने प्रचलनमा रहेको कफीसप, पान पसल, बेकरी पसल, रेष्टुरेन्ट तथा होटल राती १२ बजेसम्म संचालन गर्न पाउने गरि निर्णय गरिसकेको उनले प्रष्ट्याए ।
‘अव ती पसलमा सरकारको तर्फबाट स्थानीय प्रशासन र सुरक्षाकर्मीले सहयोग पुर्याउने छन्’, खाँणले भने, ‘यस वारेमा प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र आइसकेको होला, यदि नआएको भएमा आउने छ ।’ आन्तरिक र बिदेशी पर्र्यटकका साथमा आम उपभोक्ताले सुविधा पाउने उनले बताए ।
उनले आफू सधै रुपन्देहीको विकासमा लाग्ने र यहाँका बासिन्दाको सुखदुःखमा साथ दिने जनाउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आर्थिक विकासको केन्द्र बनाउने जनाए । गृहमन्त्री खाँणले भैरहवा मण्डपको व्यवस्थापन नगरपालिकाले गरे बजेट व्यवस्थापन संघीय सरकारले गर्ने आश्वासन समेत दिए । यस्तै खाँणले सिद्धार्थ चक्रपथको निर्माणको योजनालाई छिट्टै अडि बढाइने जनाए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले चर्को बैंक व्याजदरको कारणले निम्तिएको आर्थिक संकटबिरुद्धमा उद्यमी व्यवसायीले आन्दोलन गरेमा मुलुकको उद्यम व्यवसाय नै ठप्प हुन्छ भनेर आन्दोलन नगरि सरकारको ध्यानाकर्षणमात्र गराइएको बताए । सिमापारिको भारतीय बजार दिन प्रतिदिन गुल्जार हुँदै जाने र नेपाली बजार सुनसान हुँदै जाने अवस्थालाई सरकारले नियन्त्रण गर्न उनले आग्रह गरे ।
महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले अप्ठ्यारो परिस्थितिमा पनि बजारलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको बताए । उनले अहिलेको विषम परिस्थितमा सबैभन्दा बढी उद्योगी–व्यवसायी प्रताण्डित भएको तर सरकारको सहयोग नपाएको आरोप लगाए । ‘महोत्सवमा आउने दर्शकले धेरथोर सामान खरिद गर्नुहुन्छ, यसले बजारमा पैसा आउँछ’, मेला मूल आयोजक समिति संयोजक समेत रहेका न्यौपानेले भने, ‘मेलामा सयौं दर्शकले अवलोकन गर्ने भएकाले बजारलाई गुल्जार बनाउन टेवा पुग्ने विश्वास हाम्रो छ ।’
‘पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराकासाथ सुरु महोत्सव पुस ४ गतेसम्म संचलन हुनेछ । २ सय ५० स्टल रहेको महोत्सवमा करिब ३ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने आयोजकले जनाएका छन् । मेलामा कृषि, खाद्यान्न, लत्ताकपडा, घरेलु तथा साना उद्योगको उत्पादन, पर्यटन, अटोमोबाइल्ससँग सम्बन्धित स्टलहरु राखिएको छ । यस्तै, भ्वाइस अफ भैरहवा, कुस्ती, ब्याडमिन्टन, दुनाटपरी र बत्ती काट्ने प्रतिस्पर्धा हुँदैछ । यसका साथै महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुतीका साथै बालउद्यान पनि रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्