विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल

विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल

बुटवल, । बुटवल उपमहानगरपालिका र विश्व बैंकका प्रतिनिधि तथा विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल भएको छ ।
बुटवल उपमहानगरपालिकामा बिहीबार आयोजित छलफलमा बुटवलका तर्फबाट ८ वटा योजनाको प्रस्ताव गरिएको छ ।
नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको एकचरणको विकास अगाडि बढिसकेकोले बाँकी पूर्वाधारहरु निर्माणका लागि योजना प्रस्ताव गर्नुभयो ।
उहाँले बुटवलको १ सय ५० किलोमिटर आन्तरिक सडक, मुख्य र सहायक मार्गको १ सय ३५ किलोमिटर खुला नाली निर्माण, तिनाउ नदी नियन्त्रण तथा जलपर्यटन, पुरानो बुटवलको मौलिकता संरक्षण गर्दै पुरानो बुटवलको पुनःनिर्माण र पर्यटकीय स्थलको विकास, प्रत्येक वडामा सुविधासम्पन्न शहरी स्वास्थ्य केन्द्र निर्माण, महिला उद्यमशीलता तथा सशक्तिकरण, पार्किङ र व्यवसायिक भवन निर्माण र हरियाली पार्कहरु निर्माणका लागि प्रस्ताव गर्नुभयो ।
विकास साझेदारहरु विश्व बैंक, युएनडीपी, बेलायतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय, बेलायती दुतावास काठमाडौं, शहरी विकास मन्त्रालयका प्रतिनिधिसहितको छलफलमा नगरप्रमुख पाण्डेयले विकासका दृष्टिले बुटवलले अगुवाई गर्दै गरेको अवस्थामा बुटवललाई देशकै समृद्ध शहरका रुपमा स्थापित गर्नका लागि विकास साझेदारहरुसँगको सहकार्य जरुरी रहेको बताउनुभयो ।
उहाँले नेपालजस्तो विकासमा उदाउँदै गरेको देशलाई विदेशी दातृनिकायहरुको साथ र सहकार्य आवश्यक पर्ने र स्थानीय सरकारका रुपमा विकास र समृद्धिका लागि सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो ।
यसअघि पनि विकास साझेदारहरुसँग छलफल गरिरहेको बताउँदै प्रमुख पाण्डेयले बुटवलको विकासको लाभ बुटवल आसपासका एकदर्जनभन्दा बढी जिल्लाले लिनसक्ने बताउनुभयो ।
छलफल कार्यक्रममा बोल्दै विश्व बैंकका देशीय निर्देशक फारिस हदाद-जेर्भोसले बुटवलजस्तो उदाउँदो शहरसँग सहकार्यका लागि हात अगाडि बढाउने बताउनुभयो । उहाँले बुटवलको तीब्र विकासले आफुहरु प्रभावित भएको बताउँदै बुटवलमा कुनै न कुनै योजनामा काम गर्न आफुहरु इच्छुक रहेको बताउनुभयो । उहाँले बुटवलका प्रस्तावहरु राम्रा रहेको र त्यसले आम नागरिकलाई प्रसस्त लाभ हुने भएकाले विश्व बैंक सकारात्मक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बेलायती दुतावासकी प्रतिनिधि सविता थापाले बुटवलको विकासमा हातेमालो गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले जनतालाई लाभ हुने योजनामा सहकार्य गर्नका लागि सकारात्मक रहेको बताउनुभयो ।
युएनडीपीका प्रतिनिधि एन्डर्स म्याग्नुसनले बुटवलले विकासमा राम्रो प्रगति गरेको बताउँदै नयाँ योजनाहरुमा काम गर्नका लागि सकारात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकासका लागि विकास साझेदारहरुको साथ आवश्यक रहेको बताउनुभएको थियो ।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवललाई समृद्ध बनाउने गरी योजनाहरु तयार रहेको र त्यसका लागि आवश्यक सहकार्य गर्नका लागि विकास साझेदारहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा योजना महाशाखा प्रमुख सुमन श्रेष्ठले बुटवलका योजना र विकासका सम्भावनाहरुबारे जानकारी गराउनुभएको थियो ।
छलफलपश्चात्, बुटवल उपमहानगरपालिका र विकास साझेदारहरुसहितको टोलीले पुरानो बुटवल र जितगढी किल्ला क्षेत्रको अवलोकन गरेको थियो ।

प्रकाशित मिति : बिहिबार, चैत्र १६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij