११५ औं महिला दिवस

आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

काठमाडौं , सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ।

सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ। विभिन्न राजनीतिक दल सम्बद्ध महिला संगठनले पनि अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन्।

विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ। यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ।

नेपालको संविधानले कुनैपनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ।

यस्तै, महिलाको हक मौलिक हकको रूपमा स्थापित गरेको छ। समानुपातिक समाबेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रूपमा महिलाको सहभागिता बढदै गएको छ। हाल संघीय संसदमा ३४ प्रतिशत, प्रदेशसभामा ३६।५ र स्थानीय तहमा ४१।१ प्रतिशत महिला जनप्रतिनिधि छन्। यसैगरी निजामती सेवामा अहिले करिब २८ प्रतिशत महिला कर्मचारीको उपस्थिति छ।

समाजमा रहेका खराब अभ्यास एवं प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई अन्त्य गर्न सबैको सार्थक पहल जरुरी रहन्छ। शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवं निर्णय प्रक्रिया, राजनीति जस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित गर्नका लागि अझै मेहनत आवश्यक छ।

सन् १९७५ देखि संयुक्त राष्ट्र संघले नारी दिवस मनाउन थालेको हो। पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो। सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलाले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरका थिए। सोही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुने थालेको बताइन्छ। महिला हक र अधिकारको माग सारेर महिलाले नै संघर्ष शुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij