काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउँदा संसद् अवरोध गर्नु गलत भएको बताएका छन्।
बिहीवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। महामन्त्री शर्माले सरकारले कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षीको माग गलत भएको बताए। अदालतमा गइसकेको विषयलाई लिएर प्रतिपक्षीले प्रधानमन्त्रीको जवाफ माग गर्दा गलत सन्देश जाने उनको भनाइ छ।
उनले केही महिना मात्रै पदावधि बाँकी रहेका घिसिङलाई पदमुक्त गर्दा नकारात्मक सन्देश गएको पनि स्विकारे। उनले घिसिङलाई हटाएका कारण प्रतिपक्षले संसद् अवरोध गर्दा महत्त्वपूर्ण अध्यादेशहरू संसद्मै थन्किने आशंका व्यक्त गरे। संसद्बाट अध्यादेश पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण गर्नुपर्ने समय सीमा ज्यादै थोरै भएकाले प्रतिपक्षीको संसद् अवरोधका कारण प्रभावित भएको उनको भनाइ छ।
शर्माले भने, ‘अदालतमा गइसकेको विषयमा संसद् अवरोध गर्नु उचित हुँदैन। प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षीको भनाइमा मेरो टिप्पणी यति छ कि कुलमानजीलाई हटाएको विषय गलत भयो भन्नुस्, पुनर्बहाली गर्नुहोस् भन्नुस्, निर्णयको विरुद्धमा बोल्नुस्। तर सरकारले हरेक निर्णयको सन्दर्भमा प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने भन्ने नजिर बसायौँ भने सकारात्मक नजिर बस्दैन।’
महामन्त्री शर्माले कुलमान घिसिङलाई पदबाट नहटाउन आफूहरूले सरकारलाई सल्लाह दिएको तर त्यो कार्यान्वयन नभएको दावी गरे।
प्रकाशित मिति : बिहिबार, चैत्र १४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्