काठमाडौँ , नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र निर्वाचित भएका छन्। आज सार्वजनिक मतपरिणामअनुसार उनी २ हजार ४३१ मतान्तरले विजयी भएका हुन्।
नेपाल बार एसोसिएसन निर्वाचन २०८१ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार प्राडा मिश्रले ५ हजार ५२ मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का प्रत्यासी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरे।
नयाँ नेतृत्वका लागि बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूह र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठको समूहबीच प्रतिस्पर्धा भएको थियो।
निरालाका अनुसार उपाध्यक्षहरूमा कोशी प्रदेशमा पदमप्रसाद लिम्बू, मधेश प्रदेशमा अजयशङ्कर झा, बागमतीमा तेजबहादुर रावल, गण्डकीमा भूपेन्द्र खनाल, लुम्बिनीमा कृष्णप्रसाद पोखरेल, कर्णालीमा विवशकुमार बस्नेत, सुदूरपश्चिममा सिद्धराज ओझा, खुला महिलातर्फ सरस्वती श्रेष्ठ विजयी भएका छन्।
महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले ४ हजार ८७४ मत प्राप्त गरी विजयी हुँदा यज्ञमणि न्यौपानेले २ हजार ३६७ मत प्राप्त गरे। कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएका छन्।
सदस्यहरूमा चिरञ्जीवी तिलक्यानी दलित, सूर्यकुमार यादव मधेशी मुस्लिम काठमाडौँ उपत्यका बाहिर, रिङ्कुकुमारी यादव मधेशी मुस्लिम खुला, राजकुमार श्रेष्ठ आदिवासी जनजाति काठमाडौँ उपत्यका बाहिर, मङ्गलसुन्दर शिल्पकार आदिवासी जनजाति खुला‚ इन्दिरा आचार्य महिला काठमाडौँ उपत्यका बाहिर, किरण पौडेल काठमाडौँ उपत्यका बाहिर र रञ्जिता कार्की महिला खुला रहेका छन्।
बारको नयाँ कार्यसमितिको खुला सदस्यहरूमा किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, डा मुकुन्द अधिकारी र माधव मैनाली विजयी भएका छन्।
बारको नयाँ कार्यसमिति चयन गर्न ९ हजार ९९७ मतदाता रहेकामा ७ हजार ९९५ ९८० प्रतिशत० मत खसेको थियो। कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो।
प्रकाशित मिति : बिहिबार, चैत्र २८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्