बुटवल , सवारी दुर्घटनापछिको ठूलो संभावित आर्थिक क्षतिबाट चालक तथा मजदूरहरुलाई बचाउन यातायात मजदूर तथा व्यवसायी भलाई कोषले महत्वपूर्ण योगदान पुर्याएको सरोकारवालाहरुले बताएका छन् ।
यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलको ५१ औं स्थापना दिवस तथा ४६ औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै उनीहरुले संभावित ठूलो आर्थिक नोक्सानीबाट सर्वसाधारणलाई मारमा नपार्न भलाई कोषले ठूलो योगदान पुर्याएको बताएका हुन् ।
स्थापना दिवस तथा साधारणसभाको उद्घाटन गर्दै कोषका पुर्वअध्यक्ष तथा भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले सवारी दुर्घटना र यसको कारण मजदुरहरुलाई पर्ने कानुनी र अन्य समस्याहरुलाई समाधान गर्ने गरी अग्रजहरुबाट भलाईकोषको स्थापना भएको बताउनुभयो । मजदुरबाट चलाएको संस्था आफ्नो कार्यकालमा ब्यवसायीहरुलाई समेत समेट्ने गरी विधान संशोधन गरिएको स्मरण गर्दै संस्थाको सदस्यता र नामाकरण समयसपेक्ष परिवर्तन हुँदै आएको र भविष्यमा संस्थालाई चलायमान बनाउन परिवर्तन हुँदै उत्कृष्ट संस्थाका रुपमा चिनिने गरी अघि बढ्नुपर्ने आवश्यक्ता औल्याउनुभयो ।
सवारीको सिण्डिकेट र आलोपालोको विषयमा आम नागरिकलाई सही ढंगबाट बुझाउन सरकार र यातायात ब्यवसायीहरु चुकेको उहांले बताउनुभयो । संस्था आफ्नो स्वाभिमान र हैसियत अनुसार अघि बढेको उल्लेख गर्दै थापाले देशमा भैरहेको विकासको गति र सडक बिस्तारमा भएको ढिलाईबारे सरोकारवाला निकायहरुले दबाब दिन जरुरी रहेको बताउनुभयो ।
भूमि आयोगको कार्यप्रगतिबारे प्रकाश पार्दै उहांले देशकै ठुलो भूमिहिन र सुकुम्बासी बसोबास रहेको जिल्ला रुपन्देहीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । ‘रुपन्देही जिल्लामा भूमिहिन र सुकुम्बासी समस्या अव अन्त्य हुन्छ’–उहांले भन्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष दिनेश फुल्लेलले मजदुर र ब्यवसायीहरुको हकहितमा संस्थाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहांका अनुसार पछिल्लो पल्ट भलाईकोषले नेपालगन्ज र पोखरामा शाखा कार्यालय स्थापना गरेको छ । देशभर २८ वटा शाखा र ६८ जना कर्मचारी मार्फत कार्यसम्पादन भैरहेको पनि अध्यक्ष फुल्लेलले जानकारी गराउनुभयो । उहांका अनुसार आ।व। २०८१÷२०८२ मा विभिन्न प्रकृतिका जीवित २४० र निर्जिव ६५५ गरी ८९५ दुर्घटनामा सवारी साधनलाई आर्थिक, नैतिक र भौतिक सहयोग गगरिएको छ
कार्यक्रममा नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले भलाई कोष यातायात ब्यवसायीहरुमाझ आफ्नो योगदानकै कारण छुट्टै पहिचान बनाउन सफल संस्था भएको बताउनुभयो । मजदुरको हितमा काम गर्ने गरी स्थापना भएको संस्था बिस्तारै ब्यवसायीहरुलाई समेत समेटेर विधान संशोधन गरी नयाँ ढंगबाट अगाडि बढ्दा सफल भएको उहांको भनाई छ ।
कार्यक्रममा पश्चिम नेपाल बस ब्यवसायी प्रा।लि।का अध्यक्ष दधिराम खरेलले यातायात ब्यवसायीहरुको पिडा र समस्या समाधान सफलतापुर्वक गरेको हुँदा नै संस्थाको गरिमा समुदायमा उच्च रहेको बताउनुभयो । संस्थाको नेतृत्वबाट भएको खटनपटन र जिम्मेवारीबाट संस्थाको कार्यसम्पादन महत्वपूर्ण रहने उहांले बताउनुभयो ।
कार्यक्रममा भलाईकोषका पुर्वअध्यक्ष चिनबहादुर गुरुङले संस्थाको स्थापनामा संस्थापक अध्यक्ष स्वर्गीय राजेन्द्र श्रेष्ठको योगदानबारे चर्चा गर्दै यसलाई चलायमान बनाउन निरन्तर यातायात ब्यवसायी र मजदुरहरुको योगदान रहेको बताउनुभयो । सीमित घेरामा रहेको संस्थाको क्षेत्र र सेवा बिस्तार गरेर संस्थाले सेवाग्राहीहरुको मन जित्न सफल भएको उहांले दाबी गर्नुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, पुर्वअध्यक्ष दिल बहादुर थापा, नेकपाका केन्द्रीय सदस्य शरद ओली, नेपाली काँग्रेस रुपन्देही जिल्ला कोषाध्यक्ष तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष हिमाल गैरे, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव मुक्ति अधिकारी, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली, रुपन्देही ब्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाललगायतले सडक दुर्घटना न्युनीकरणका लागि संस्थागत रुपमा तालिम र अभिमुखिकरणलाई जोड्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सवारी साधनमा लामो सेवा गरी ५८ वर्ष उमेर हद पार गरेका चालक पशुपति खरेललाई आर्थिक सहयोग प्रदान गरिएको छ । यसैगरी सवारी दुर्घटनामा मृत्यु भएका कृष्णलाल मरासिनीको परिवारलाई संस्थाले रु। ५० हजार नगद सहयोग गरेको छ । साधारणसभाले अध्यक्ष दिनेश फुल्लेल, महासचिव योग गुरुङ र कोषाध्यक्ष प्रकाशकुमार नेपालको प्रतिवेदन पारित गरेको छ ।
स्थापना दिवसको अवसरमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा ७६ जनाले रक्तदान गरेको कोषका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिनुभयो ।
।
प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्