बुटवल । बुटवल उपमहानगरपालिका अन्तर्गतका १३ संस्थागत विद्यालयमा कक्षा ११ अध्ययनरत तीन हजार ४३६ मध्ये ३४४ जना विद्यार्थीले यस वर्ष निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने भएका छन् । गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै उपमहानगरपालिकाले आइतबार सम्बन्धित विद्यालयहरूमा स्वयं परीक्षा सञ्चालन गरेर छात्रवृत्ति प्राप्तकर्ताको छनोट गरेको हो
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयका अनुसार छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले कक्षा १२ पनि निशुल्क अध्ययन गर्न पाउनेछन् । छात्रवृत्तिलाई पारदर्शी र समान पहुँच सुनिश्चित गर्न विद्यालय र उपमहानगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गरी परीक्षा लिएको नगर प्रमुख पाण्डेयले जानकारी दिए ।
विद्यार्थी छनोटका लागि परीक्षा व्यवस्था विद्यालयले गरे पनि परीक्षाको अनुगमनका लागि उपमहानगरपालिकाबाट कर्मचारी खटाइएको अनुगमन शाखा प्रमुख ठगिश्वर बस्यालले बताए । यस प्रणालीले छात्रवृत्ति वितरणमा पारदर्शिता र निष्पक्षता बढाएको उनको भनाइ छ
यसअघि संस्थागत विद्यालयहरूले आफ्नै निर्णयअनुसार गरिब तथा जेहेन्दार छात्रवृत्ति वितरण गर्दै आएका भए पनि पछिल्ला वर्षमा स्थानीय तहको प्रत्यक्ष व्यवस्थापनमा परीक्षा लिएर छात्रवृत्ति वितरण गर्ने प्रचलन सुरु भएको हो । अक्सफोर्ड माविका प्राचार्य दिनेश भुषालका अनुसार प्रश्नपत्र पनि उपमहानगरपालिकाको शिक्षा शाखाले नै तयार पारेको छ ।
उपाध्यायले छात्रवृत्तिको १० प्रतिशत कोटा बाहेक आर्थिक अभावका कारण पढ्न नसक्ने अन्य विद्यार्थीका लागि पनि विद्यालयले सम्भाव्य सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए ।
प्रकाशित मिति : सोमबार, मंसिर १ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्