रुपन्देही
मजदुरको जीवनस्तर परिवर्तनका लागि सबै एकजुट हुनुपर्नेमा मजदुर नेताहरुले जोड दिएका छन् ।
राजनीतिक व्यवस्था फेरिए पनि मजदुरको अवस्था अझै परिवर्तन हुन नसकेकाले सबै मिलेर आवाज उठाउनुपर्ने उनिहरुको भनाइ थियो । आज बुटवलमा आयोजित नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) लुम्बिनीको प्रथम अधिबेशनको उद्घाटन समारोहमा बोल्दै उनिहरुले श्रमजीविका समस्यालाई जोडदार ढंगले उठाउन माग गरे ।
समारोहमा नेपाल ट्रेड युनियन महासंघका राष्ट्रिय अध्यक्ष तथा एमाले पोलिटब्युरो सदस्य विनोद श्रेष्ठले मजदुरका समस्या समाधानका लागि वर्गका आधारमा आरक्षणको व्यवस्था गर्नुपर्ने बताउनुभयो । “सबै क्षेत्रमा समस्या छन् । हामी दिने ठाउँमा पुगेर पनि लिन पाएनौ, यस्तो किन भयो कारण खोजि गर्नुपर्छ र प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ ।”
मजदुर आन्दोलन नेता व्यवस्थापनका लागि नभई मजदुरको हकहित र अधिकारका लागि भएको बताउनुभयो । “मजदुर आन्दोलन मजजदुरका लागि मजदुरबाटै हुनुपर्छ, हामी प्रतिष्पर्धाबाट मुक्त भइ एकताबद्ध भएर अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।
ट्रेड युनियन महासंघका राष्ट्रिय उपाध्यक्ष कमल गौतमले मजदुरलाई आत्म स्वाभिमान सहित बाँच्ने वातावरण निर्माण भएको बताउनुभयो । नेकपा एमाले नेतृत्वको सरकारका पालामा स्वयंसेविका भत्ताको व्यवस्था, स्वास्थ्य विमा, हरेक शहरीकरण भएका स्थानमा अटोभिलेजको स्थापना लगायतका मजदुरका पक्षमा निर्णय भएको जनाउँदै यसको प्रभावकारी कार्यान्वनका लागि सबैले खबरदारी गर्न आवश्यक रहेको बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले पेशागत हकहित र अधिकार स्थापित गर्न जिफन्टले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उपमहानगरले स्थानीय बजारमा खपत हुने खालको सीपमूलक कार्यक्रम सञ्चालन गरी युवालाई आत्मनिर्भर बनाउने अभियानको शुरुवात गरेको बताउँदै उहाँले स्थानीय तहको जिम्मेवारी कुशलतापूर्वक पुरा गरेको उल्लेख गर्नुभयो ।
नेकपा एमाले प्रदेश कमिटि अध्यक्ष राधाकृष्ण कडेँलले कुन पार्टीको सरकार हुँदा मजदुरका पक्षमा राम्रा काम भए तयसको मूल्यांकन गर्न जरुरी रहेको बताउनुभयो ।
ट्रेड युनियन महासंघका प्रदेश अध्यक्ष हरि कार्कीले श्रमजीविका हक र अधिकारका लागि महासंघ सधैँ लागि परेको बताउनुभयो ।
समारोहमा नेपाल उद्योग परिसंघका अध्यक्ष एजाज आलम, ट्रेड युनियन कांग्रेस प्रदेश समितिका बरिष्ठ उपाध्यक्ष कृष्ण बेल्बासे, यातायात, मजदुर तथा व्यवसायी भलाइ कोषका अध्यक्ष दिनेश फुल्लेल, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका महासचिव निरु गौतम, श्रम तथा रोजगार कार्यालयका प्रमुख केशबराज भट्टराई, ट्रेड युनियन महासंघका प्रदेश सचिव हुमाकान्त काफ्ले लगायतले सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
प्रकाशित मिति : सोमबार, चैत्र २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्