बुटवल – निर्वाचन आयोगका निर्वाचन आयुक्त सगुन शमशेर जबराले निर्वाचन आचारसंहिता कसैले पनि उल्लंघन गरे कडाईका साथ कारबाही प्रक्रिया अघि बढाईन बताएका छन् ।
आयोगले रुपन्देहीमा शनिबार आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा बाेल्दै उनले आचारसंहिता उल्लंघनबारे सञ्चारमाध्यमले पनि निगरानी गरिदिन आग्रह गरे । उनले भने, ‘आचारसंहिता उल्लंघन भए नभएको जानकारी मिडिया हाउसले गरिदिन आयोगलाई सहज हुन्छ, पत्रकारिताको आचारसंहिताभित्र रहेर निगरानी गरौं ।’
उनले सुरक्षा निकाय जस्तै सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको बताए । नागरिकले सबैभन्दा बढी विश्वास मिडियाको गर्ने र मिडिया नै नागरिकमा सूचना पुग्ने पहिलो माध्यम भएकाले त्यसलाई अझ बढी विश्वस्त बनाउन उनले आग्रह गरे । उनले निर्वाचनको माहोल सिर्जना गर्न मिडियाको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए । आयोग संविधान ऐनमा रही नयाँ कार्य गर्न गर्न खोजिरहेको उनले बताए ।
निर्वाचन आयोगका कानून तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले निर्वाचन आचारसंहिता नैतिक र कानूनी बन्धन भएकाले त्यसमा आमसञ्चार पनि संवेदनशील हुनुपर्ने बताए ।
सूचना आयोगका पूर्व आयुक्त यशोदा तिमिल्सनाले निर्वाचनमा सञ्चारकर्मीहरू मिथ्या सूचना र दुष्प्रचारबाट बच्नुपर्ने बताइन् ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले निर्वाचन तोकिएकै मितिमा हुँदैन भन्ने भ्रम चिर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए । उनले निर्वाचन आयोगले जतिसक्दो छिटो प्रवाह गर्नुपर्ने बताए ।
निर्वाचन आयोगका उपसचिव कमल भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीय तह निर्वाचन, २०७९ र निर्वाचन आचारसंहिता २०७८ बारे यज्ञ प्रसाल भट्टराई, निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिको रोकथामबारे यशोदा तिमिल्सना, निर्वाचनसंग सम्बन्धित समाचार संकलन र रिपोर्टिङबारे सिर्जना अर्यालले प्रस्तुतीकरण गरेका थिए ।
प्रकाशित मिति : शनिबार, बैशाख ३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्