काठमाण्डाै – राष्ट्रपति चुनावको प्रक्रियाअन्तर्गत आज शुक्रवार मतदाताको अन्तिम नामावली प्रकाशन हुने भएको छ । मतदाता नामावलीमा समावेश नाममा छानबिनपछि आज अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।
मतदाता नामावलीमा नाम समावेश तथा नामावली सच्याउन पाँच वटा निवेदन परेका छन् । सहायक निर्वाचन अधिकृत अमृता शर्माका अनुसार आगजनी मुद्दामा छ महिना कैद भई निलम्बन अवस्थामा मतदाता सूचीमा नपरेका कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले नाम समावेशका लागि निवेदन दिनुभएको छ । राष्ट्रपतिबाट आममाफी पाएर निलम्बन फुकुवा भएपछि चौधरीले आफ्नो नाम समावेशका लागि निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुभएको हो ।
यसैगरी अन्य चार वटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधि सभाका दुई, राष्ट्रिय सभाका एक र प्रदेश सभाका एक सदस्यले नाममा फरक परेको भन्दै सच्याएर सूची संशोधन गर्न निवेदन दिएका छन् । सरस्वती खड्का, दुर्गा गुरुङ, सञ्जुकुमारी चौधरी र संगीता मण्डल धानुकले निवेदन दिएका हुन् । यी निवेदनहरूमा निर्णय गरेर आज अन्तिम नामावली प्रकाशन गरिने सहायक निर्वाचन अधिकृत शर्माले बताउनुभयो ।
आउँदो २५ गते हुने राष्ट्रपति चुनावमा प्रतिनिधि सभाका २७३, राष्ट्रिय सभाका ५९ र प्रदेश सभाका ५५० गरी कुल ८८२ मतदाता छन् । सङ्घीय संसद्तर्फ एक मतदाताको मतभार ७९ र प्रदेश सभातर्फ ४८ मतभार रहेको छ । निर्वाचन कार्यतालिकाअनुसार भोलि शनिवार राष्ट्रपतिको उम्मेदवारी दर्ता हुनेछ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १२ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्