काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकता विधेयक प्रमाणीकरणलाई लिएर सर्वोच्च अदालतबाट अल्पकालीन आदेश आउँदैमा सरकारको कमजोरी भन्न नमिल्ने बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभा भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले सरकारले गरेको अनुरोधमा राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको र त्यसकै विरुद्धमा परेको मुद्दामा अदालतले अल्पकालीन आदेश दिएको बताउनुभयाे । सर्वोच्चबाट अन्तरिम आदेश आइसकेपछि मात्रै सरकारको कमजोरी वा सफलता भन्ने कुरा औँल्याउन सकिने उहाँकाे भनाइ छ ।
मन्त्री शर्माले संविधानले संसद्का दुवै सदनले दोस्रो पटक पनि पारित गरेर पठाइसकेपछि राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि के हुन्छ ? भन्ने बारेमा परिकल्पना नगर्दा यो समस्या आएको बताउनु भयो । उहाँले सांसदले पारित गरेका कानुन, विधेयक, ऐनलाई राष्ट्रपतिले ‘होल्ड’ गर्दा संविधान, लोकतन्त्रमाथि नै प्रश्न उठ्ने जिकिर गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘कुनै पनि विषय सर्वोच्च अदालतमा गयो भन्दैमा सरकारको कमजोरी भयो भन्ने हुँदैन, अदालतले निर्क्याेल गर्ला, अहिले अन्तरिम आदेशमात्रै गरेको छ । अन्तिम फैसलापछि मात्रै सरकारकाे कमजाेरी वा सफलता भन्ने थाहा हुन्छ । राष्ट्रपतिले विधेयकलाई प्रमाणीकरण गर्दैनन् भन्ने कुरा संविधानले परिकल्पना नै गरेन । सरकारले उपयुक्त विकल्प ठानेर अनुरोध गरेकाे हाे । अब अदालतले आदेश दिएपछि एउटा नजिर बस्नेछ ।’
मन्त्री शर्माले संसद्काे रेकर्डबाट असंसदीय भाषा मेटाइसकेको र सांसदहरूले पनि संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमा सोच्न आवश्यक रहेको बताउनुभयो ।
प्रकाशित मिति : सोमबार, जेष्ठ २२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्