काठमाण्डौ – उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्वाचन आयोगले छानबिन गरिरहेको छ । आज बेलुकी ५ बजेसम्म निर्णय गरिने आयोगले जनाएको छ । आयोगको कार्यसूचीअनुसार आजै बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
यस्तै, भोलि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भोलि नै दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
L
फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मनोनयन दर्ता गराएका उम्मेदवारमध्ये पाँच जनाविरुद्ध उजुरी परेको छ ।
उजुरी पर्नेहरूमा रौतहटबाट उम्मेदवारी दिनुभएका नेकपाका सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कैलाली निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिनुभएका नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरी, रास्वपाबाट भक्तपुर–२ का उम्मेदवार राजीव खत्री, भक्तपुर–२ बाट उम्मेदवारी दिएका नेपाल जनसेवा पार्टीबाट उम्मेदवार जानुका पाठक र रास्वपाबाट सुनसरी–२ का उम्मेदवार लालविक्रम थापा रहेका छन् । आयोगले हिजो बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी सङ्कलन गरेको थियो ।
यसैबीच निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्नेहरूमाथि उजुरीका आधारमा मात्र नभई आफ्नै अनुसन्धानका आधारमा पनि कारबाही गर्ने चेतावनी दिएको छ ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आफ्ना संयन्त्रबाट प्राप्त प्रतिवेदन तथा उजुरीका आधारमा आवश्यक अध्ययन गरी कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइनेछ । उजुरी नपरे पनि आयोगले स्वअध्ययनमार्फत आचारसंहिताविपरीत कार्य गर्नेहरूमाथि कारबाही गर्ने उहाँले बताउनुभयो ।
प्रकाशित मिति : बिहिबार, माघ ८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्