लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ । पश्चिम नेपालकै सबैभन्दा धेरै बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस अस्पतालको ११६औँ स्थापना दिवसमा एमआरआई सेवा सुरुआत गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक लगानीमा एमआरआई मेसिन जडानपछि सेवा सञ्चालनमा ल्याइएको हो । सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई ध्यानमा राख्दै सीमित स्रोत र साधनको अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगिएको छ । एमआरआई सेवाको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे । उनले लुम्बिनी प्रादेशिक अस्पतालका सेवा थप प्रभावकारी बनाउन प्रतिष्ठानका रूपमा विकास गर्ने गरी पहल भइरहेको बताए । विशिष्ट र विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सुनिश्चित गर्न प्रतिष्ठानको अवधारणा अघि सारिएको उनले स्पष्ट पारे ।

मुख्यमन्त्री आचार्यले प्रदेशभित्रै सबै प्रकारका रोगको उपचार सम्भव हुने गरी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताए । उनले नमूना अस्पतालका रूपमा विकास गर्ने गरी प्रदेश सरकारले काम अघि बढाएको जानकारी दिए । प्रदेश सरकारले सेवा विस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले सस्तो र सुलभ गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए । एमआरआई मेसिन जडान भएपछि सेवाग्राहीले अब सस्तो र सुलभ ढङ्गले सेवा लिन पाउने उनले विश्वास व्यक्त गरे । एक हजार २०० शय्याको अस्पताल निर्माणको काम अघि बढेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले विगत २१ महिनाको अवधिमा ४० प्रतिशत भौतिक प्रगति भएको र तीन वर्षभित्र सबै सेवा नयाँ भवनबाट सञ्चालन गर्ने योजना रहेको बताए ।

स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै गौरव भएको उल्लेख गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनेगरी काम भइरहेको बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, प्रदेश सरकारका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, अस्पतालका प्रमुख प्रशासक प्रेमराज गौतमलगायतले अस्पतालको सेवा प्रभावकारी बनाउन सबैको समन्वय र सहकार्य जरुरी रहेको बताए ।

सो अवसरमा अस्पतालका सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले अस्पतालको प्रगति र भावी योजनाबारे जानकारी दिएका थिए । सो अवसरमा अवकाशप्राप्त कर्मचारीलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो । साथै २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।

प्रकाशित मिति : शुक्रबार, चैत्र ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij