काठमाण्डाै – आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि ३२ राजनीतिक दलले समानुपातिक बन्दसूची परिमार्जन गरेका छन् । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिकको बन्दसूची सच्याएर बुझाउन हिजोसम्मको समयसीमा दिएर ४८ राजनीतिक दललाई पत्राचार गरेको थियो ।
निर्वाचन आयोग राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार ती ४८ दलमध्ये प्रतिनिधि सभातर्फ ३२ वटा राजनीतिक दलले समानुपातिकको बन्दसूची सच्याएर बुझाएका हुन्।
प्रदेश सभातर्फ प्रदेश एकमा ३१ दल, मधेस प्रदेशमा २१, वाग्मती प्रदेशमा २० दल, गण्डकी प्रदेशमा २५ दल, लुम्बिनी प्रदेशमा २४ दल, कर्णाली प्रदेशमा २० दल र सुदूरपश्चिम प्रदेशमा २४ राजनीतिक दलले समानुपातिकको सूची सच्याएर बुझाएका पनि वाग्लेले जानकारी दिनुभयो । अब आयोगले बन्दसूचीमाथिको थप प्रक्रिया सुरु गर्नेछ । अब बन्दसूचीमा नाम रहेको सम्बन्धित व्यक्तिले फिर्ता लिने र उम्मेदवारविरुद्ध उजुरी परेर छानबिन गर्दा नाम हट्नेबाहेक दलहरुले बुझाएको नाममा हेरफेर नहुने निर्वाचन आयोगले जनाएको छ । नाम फिर्ता लिन चाहने उम्मेदरवारलाई आज दिउँसो १२ बजेसम्मको समय दिइएको छ ।
कसैले नाम फिर्ता लिएमा अर्को व्यक्तिलाई दलले उम्मेदवार बनाउन सक्नेछन् । निर्वाचन आयोगले नाम फिर्ता लिएको उम्मेदवारबारे आज दिउँसो तीन बजेसम्म सम्बन्धित दललाई जानकारी दिनेछ । अन्तिम सूची निर्वाचन आयोगले असोज २२ गते प्रकाशन गर्नेछ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन अब ४८ दिन मात्रै बाँकी छ।
प्रकाशित मिति : सोमबार, असोज १७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्