बुटवल ।
प्रदेशको राजधानी बुटवलबाट दाङ सार्ने प्रदेश सरकारको निर्णयको नेपाली कांग्रेस लगायत रुपन्देहीमा क्रियाशील बिभिन्न संघ संस्थाहरुले बिरोध जनाएका छन् ।
यसै क्रममा प्रदेशको राजधानी दाङ लैजाने प्रदेश सरकारको निर्णयको रुपन्देही व्यापार संघले पनि बिरोध जनाएको छ ।
संघका अध्यक्ष यमलाल लोहनी र महासचिव दयानीधि भण्डारीले शुक्रवार संयुक्त रुपमा विज्ञप्ति जारी गरी जनभावना विपरित राजधानी सार्ने प्रस्ताव अगाडी सारिएको भन्दै आपत्ति जनाएको हो ।
प्रस्तावको विपक्षमा मतदान गर्न संघले प्रदेश सभा सदस्यहरुलाई अनुरोध समेत गरेको छ ।
लामो राजनीतिक आन्दोलनपछि मुलुकमा संघीय गणतन्त्र स्थापना भएको र राज्यको पुरनसंरचनाका क्रममा मुलुकलाई ७ प्रदेशमा विभाजन गरि सोही अनुसार सरकार सञ्चालन भएको अवस्थामा प्रदेशको स्थायी राजधानीको टुगों लगाउनु पर्नेमा जनभावना विपरित राजधानी सार्ने प्रस्ताव अगाडी सारिएको भन्दै विज्ञप्तिमा आपत्ति प्रकट गरिएको छ ।
प्रदेश सरकारले बुटवलमा रहेको अस्थायी राजधानीलाई स्थायी बनाउने प्रक्रिया थाल्नुको सट्टा दाङ लैजाने प्रस्ताव गर्नु हामीले यस क्षेत्रलाई अखण्ड राख्न गरेको आन्दोलन र माग विपरित रहेको उल्लेख गर्दै विज्ञप्तिमा तत्काल सो प्रस्ताव फिर्ता गर्न आग्रह गरिएको छ ।
यस क्षेत्रका जनताले अखण्ड आन्दोलनमा देखाएको त्यो एतिहासिक सहभागिताको स्मरण गर्दै विज्ञप्तिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका सभासदहरुलाई रुपन्देहीबाट राजधानी सार्ने निर्णयको विपक्षमा दृढका साथ उभिन अनुरोध गरिएको छ ।
कोरोना रोगको महामारीको समयमा जनताको जीवन रक्षा र मुलुकको विग्रदो आर्थिक अवस्थालाई कसरी सुधार गर्ने भन्ने तिर ध्यान दिनु पर्नेमा प्रदेश सरकार जनताको भावना विपरित राजधानी सार्ने काममा लाग्नु निकै निन्दनिय रहेको उल्लेख गरिएको छ ।
प्रदेश निमार्ण भएसंगै त्यसलाई कार्यान्वयनमा ल्याउन र राजधानीको स्थायीत्वका लागी आवश्यक भौतिक संरचनाको व्यवस्था गर्न संघले आफ्नो भवन प्रदेश सरकारलाई उपभोग गर्न दिएको स्मरण गर्दै संघले राजधानीका लागि सबै प्रकारले उपयुक्त स्थान रुपन्देही नै रहेको कुरामा कुनै दुई मत नभएको जनाएको छ ।
बुटवलबाट प्रदेश राजधानी सार्ने प्रदेश सरकारको निर्णय खारेज गराउन र रुपन्देहीलाई राजधानी तोक्न सबै व्यवसायीक संघसंस्था, पेशागत संगठन र आम सर्वसाधारणलाई एक जुट भएर अगाडी बढ्न संघले अपिल गरेको छ ।
प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा लैजान प्रदेश सरकारले प्रदेश सभामा प्रस्ताव पेश गरे लगत्तै नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुले शुक्रबार प्रदेश सभा बैठकमै आपत्ति जनाएका थिए भने कांग्रेस कार्यकर्ताहरुले सडकमै उत्रेर बिरोध प्रदर्शन गरेका थिए ।
शुक्रबार बसेको प्रदेश सभाको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कूल प्रसाद केसीले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा बनाउन प्रदेश सभामा प्रस्ताव पेश गरेका थिए ।
प्रकाशित मिति : शुक्रबार, असोज १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्