रुपन्देहीका फर्निचर उद्योगीको गुनासो – उद्योग गर्ने वातावरण छैन

रुपन्देहीका फर्निचर उद्योगीको गुनासो – उद्योग गर्ने वातावरण छैन

 

तिलोत्तमा

रुपन्देहीका फर्निचर उद्योगीहरुले भारतीय घुमन्ते कामदारका कारण नेपाली उद्योगी ब्यवसायी मारमा परेको गुनासो गरेका छन् । भारतीय घुमन्ते कामदारका कारण उद्योग ब्यवसाय सञ्चालन गर्न समस्या परेको भन्दै उनीहरुले यस्ता कामदारलाई निरुत्साहित गर्नेगरी फर्निचर संघले अनुगमन लगायतका कार्यलाई प्रभावकारी ढंगले अगाडी बढाउनुपर्ने सुझाव दिएका छन् ।

भारतीय कामदारका कारण एकातिर नेपाली पुंजी विदेश पलायन हुनुका साथै सरकारको राजश्व अशुलीमा समस्या परेको छ भने अर्कोतर्फ करको दायरामा रहेर सञ्चालित उद्योगहरु काम गर्ने वातावरण नभएर वन्द गर्नुपर्ने अवस्थामा पुगेको उनीहरुको गुनासो छ ।

बुटवल फर्निचर उद्योग संघ रुपन्देही मातहत गठित अनुगमन उपसमिति तिलोत्तमा नगर समितिले बुधबार आयोजना गरेको समिक्षा तथा बृहत भेलामा बोल्दै संघका जिल्ला उपाध्यक्ष तेज प्रसाद पराजुलीले भारतीय घुमन्ते कामदारका कारण नेपाली उद्योग फष्टाउन नसकेको बताउँदै भारतीय कामदारलाई निरुत्साहित गर्ने नीति सरकारले लिनुपर्नेमा ब्यवसायी आफै अगाडी बढ्नुपरेको बताए । उनले विना दर्ता सञ्चालनमा रहेका उद्योगहरुलाई पनि कानुनी दायरामा ल्याएर दर्ता गर्नुपर्नेमा जोड दिए ।

संघका पूर्व अध्यक्ष विष्नु श्रेष्ठले नेपालमा दक्ष कामदारको अभाव, फर्निचरमा उद्योग मैत्री वातावरणको अभाव, उद्योग स्थापनाका लागि जग्गाको अभाव तथा उद्योग स्थापना भई सञ्चालन भईरहेका उद्योगहरु वस्ति विकासको चपेटामा परी वन्द गर्नुपर्ने लगायतका समस्या उद्योगीहरुले ब्यहोर्नुपरेका कारण उद्योगहरुले गति लिन नसकेको बताए । उनले यस्ता समस्या समाधान हुनेगरी नीतिगत व्यवस्था गर्न सरकारसंग आग्रह गरे ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शाखा अधिकृत कृष्णप्रसाद पाण्डेले फर्निचर उद्योगी ब्यवसायीका समस्या समाधानका लागि नगरपालिका सधै उद्योगी ब्यवसायीको पक्षमा रहेने बताए । उनले नगरपालिकाले उद्योग मैत्री नीति अवलम्वन गरेको भन्दै गैर ब्यवसायीलाई कानुनी दायरामा ल्याउन र उद्योगी ब्यवसायीलाई परेका समस्या समाधानका लागि नगरपालिका फर्निचर उद्योग संघ संग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

अनुगमन उपसमिति तिलोत्तमा नगर समितिका संयोजक लिलबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने ब्यवसायीहरुले कामदारको अभाव, उद्योगमैत्री वातावरण नहुनु, दर्ता गरेर सञ्चालन गरेका उद्योगको आसपासमा बस्तीको विकास हुने र त्यही वस्तीका कारण उद्योग विस्थापित हुनुपर्ने समस्याका कारण उद्योगीहरु उद्योग वन्द गर्नुपर्ने अवस्थामा पुगेको धारणा राखेका थिए ।

कार्यक्रममा फर्निचर संघका जिल्ला कोषाध्यक्ष नेत्र रुचाल, तिलोत्तमा अनुगमन उप समितिका सहसंयोजक विनोद न्यौपाने, अनुगमन समितिका सदस्यहरु प्रकाश न्यौपाने, डिल्लीराज गौतम, खिम खड्का, गोविन्द श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, मेघराज ज्ञवाली लगायतले घुमन्ते कामदारलाई निरुत्साहित गरी स्वदेशी उद्योग सञ्चालन गर्ने वातावरण निर्माणका लागि स्थानीय सरकारले सहयोग गनुपर्ने धारणा राखेका थिए ।

भेलाले उद्योगीहरुले कानुनी र ब्यवहारिक रुपमा ब्यहोर्नुपरेका समस्या समाधान र भारतीय घुमन्ते कामदारलाई कानुनको दायरामा ल्याउन तथा कानुनको दायरामा नआउने कामदारलाई निरुत्साहित गर्ने उद्देश्यले स्थानीय पालिकाका जनप्रतिनिधि र नगरप्रहरीलाई साथमा लिएर वडा तथा पालिक स्तरमा अनुगमन गर्ने कार्यलाई तिब्रता दिने प्रस्ताव पारित गरेको तिलोत्तमा अनुगमन उप समितिका सहसंयोजक विनोद न्यौपानले जानकारी गराए ।

प्रकाशित मिति : बुधबार, भाद्र ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij