काठमाडौँ — नुवाकोटको ककनी गाउँपालिकास्थित विद्युत्को प्रसारण लाइनमा झुण्डिएका युवकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । तालिमप्राप्त सैनिकहरु टावरमा चढेपछि शनिबार बिहानदेखि तारमा बस्दै आएका व्यक्ति ओर्लिएका हुन् ।
ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार ककनी वडा नम्बर ७ घाँडेफेदीबाट तल झारिएको हो । ‘भर्खरै मोटरमा हालेर लगिएको छ,’ तामाङले भने ।
उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा बेलकोटगढी नगरपालिका १३ का प्रेम बिक शनिबार बिहान ११ बजेतिर चढेका थिए । उनी पोलमा चढ्न थालेपछि करेन्ट लाग्न सक्ने भन्दै स्थानीयको खबरपछि प्राधिकरणले उक्त प्रसारण लाइनको बिजुली काटेको थियो ।
बिक तारमा झुण्डिएर हिँडिरहेको अवस्थामा स्थानीयहरूले भिडियो समेत बनाएर सार्वजनिक गरेका थिए । स्थानीयहरूले तयार पारेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा बिकले मानसिक सन्तुलन गुमाएको पनि बताइएको छ । बिक तारमा झुण्डिएको तस्बिर र भिडियो शनिबार दिनभर सामाजिक सञ्जालमा व्यापक रुपमा सेयर गरिएको छ ।
झन्डै ८ घण्टापछि बिकलाई सेनाको टोलीले उद्धार गरेको हो । बिक तारमा चढेर लामो समय नओर्लिएका कारण देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त भएको थियो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि करिब ६५ मेगावाट बिजुली प्रणालीभन्दा बाहिर गएको थियो । ‘८ घण्टासम्म माथिल्लो त्रिशूली-३ ‘ए’ र अर्को ५ मेगावाट जतिको सानो आयोजनाको बिजुली प्रसारण प्रभावित बन्यो,’ प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘प्रणालीमा त्यत्ति ठूलो परिमाणमा बिजुली अभाव भएपछि लोड व्यवस्थापनका लागि कतै लाइन काट्ने, कतै कम क्षमतामा बिजुली पठाउने गरिरह्यौं ।’
प्रसारण लाइनमा चढेका व्यक्ति मानसिक सन्तुलन ठीक नरहेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, जेष्ठ २८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्