बुटवल –रगतको कमि हुन नदिन नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्ला शाखाले एकैदिन दुई स्थानमा गरेको रक्तदान कार्यक्रममा १३५ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन ।
रक्तदान कार्यक्रम शहर केन्द्रित मात्र नभएर गाउँमा पनि विस्तार गर्ने उद्देश्य सहित अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरिएको बृहत् रक्तदान कार्यक्रममा १२ जना महिला सहित ७० जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका छन् । जसमा ९० प्रतिशतभन्दा धेरै रक्तदाताहरुले पहिलो पटक रक्तदान गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखा अध्यक्ष कृष्ण चौहानले बताए ।
नेपाल विद्यार्थी संघ अर्घाखाँचीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखा अध्यक्ष कृष्ण चौहानको अध्यक्षता र सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई नेपाल विद्यार्थी संघ अर्घाखाँचीका सभापति भरतमणि भट्टराईले संयोजन गरेका थिए ।
त्यसैगरी, प्रत्येक महिनाको अन्तिम शनिवार रक्तदान कार्यक्रम गर्ने तालिका अनुसार शनिबार बुटवल ब्लड बैंकमा ९९ औं मासिक नियमित रक्तदान कार्यक्रममा ६५ युनिट रगत जम्मा भएको कार्यक्रम संयोजक हरि ज्ञवालीले बताए । लिम्घा रुपन्देही सम्पर्क समाज सह(आयोजक रहेको उक्त कार्यक्रमलाई डल्ले बुटवल रेष्टुरेन्टले प्रायोजन गरेको थियो ।
दुबै कार्यक्रमलाई सफल बनाउन नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका उपाध्यक्ष भीष्म के। सी। लगायतका पदाधिकारी तथा व्लड बैंकका प्राविधिक हरि सापकोटा र चन्द्र बहादुर झेडिको विशेष भुमीका रहेको स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ३० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्